काठमाडौं । नेकपा (एमाले)का सांसद गुरु बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा दिएको चुनौतीलाई स्विकार्दै विगतका सबै विवादास्पद घटना र काण्डहरूको निष्पक्ष छानबिनका लागि प्रतिपक्ष पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन्।
शुक्रबार जारी प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बरालले बिहीबार बजेट र करका दर हेरफेरका विषयमा अर्थमन्त्री वाग्लेले विपक्षी दलहरूलाई लक्षित गर्दै दिएको धम्कीपूर्ण चुनौतीको संसद्को रोस्टमबाटै कडा जवाफ दिएका हुन्।
उनले संसद्मा बोल्दै विगतमा घटेका सम्पूर्ण घटनाहरूलाई 'दूधको दूध र पानीको पानी' हुने गरी छुट्ट्याउनका लागि प्रतिपक्ष संसद्मै हाजिर रहेको बताए। यदि निष्पक्ष छानबिन भएमा त्यसले सत्यलाई प्रमाणित गर्ने र कतै कमजोरी भएको देखिएमा आफूहरू त्यसलाई सच्याउन समेत तयार रहेको उनको भनाइ थियो।
संसद्मा आफ्नो धारणा राख्ने क्रममा सांसद बरालले करका दर हेरफेर र अर्थमन्त्रीमाथि उठेका गम्भीर सवालहरूको सत्यतथ्य बाहिर ल्याउनका लागि तत्काल एउटा शक्तिशाली संसदीय छानबिन समिति गठन गर्नुपर्ने जोडदार माग गरे।
हिजो प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले विपक्षी सांसदहरूलाई त्रसित बनाउने शैलीमा आफूलाई उनीहरूका पुराना काण्डहरू समेत राम्रोसँग थाहा भएको र ती सबै काण्डहरू क्रमशः खोल्ने चेतावनी दिएका थिए।
अर्थमन्त्रीको उक्त धम्कीपूर्ण र गैरसंसदीय अभिव्यक्तिको प्रतिवाद गर्दै एमाले सांसद बरालले धम्कीका भाषाले संसद् चल्न नसक्ने भन्दै हिम्मत भए छानबिन समिति बनाएर सबै काण्डहरूको अनुसन्धान गर्न सरकारलाई चुनौती दिए।