काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिले टंकप्रसाद पाण्डेयलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ।
नवनियुक्त अध्यक्ष पाण्डेय निजामती सेवामा करिब २५ वर्ष कार्यरत रहँदै विभिन्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको अनुभव रहेको बैंकले जनाएको छ। उनीसँग आर्थिक क्षेत्रसहित विभिन्न सरकारी तथा संस्थागत निकायमा कार्य गरेको दीर्घ अनुभव रहेको बताइएको छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार नवनियुक्त अध्यक्षले पदभार ग्रहण गर्नुअघि शपथ लिनुपर्ने व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित कार्यक्रममा विश्वनाथ पौडेल ले अध्यक्ष पाण्डेयलाई शपथ ग्रहण गराए।
शपथ ग्रहण समारोहमा किरण पण्डित, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू रामु पौडेल, गुरुप्रसाद पौडेल, दिर्घबहादुर रावल, मुक्तिनाथ सापकोटा, निर्देशक मिरा ताल्चाभडेल, बोर्ड सचिव शरणकुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा कम्पनी सचिव एवं प्रवक्ता हिमलाल पौडेल समेत कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।
बैंकले नवनियुक्त अध्यक्ष पाण्डेयको नेतृत्वमा संस्थागत सुशासन, वित्तीय सुदृढीकरण तथा कृषि क्षेत्रको वित्तीय पहुँच विस्तारमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।