सुनको इतिहासमै सबैभन्दा ठुलो मूल्य वृद्धि: प्रतितोला ३ लाख ११ हजार नाघ्यो, चाँदी पनि बढ्यो

सुनको इतिहासमै सबैभन्दा ठुलो मूल्य वृद्धि: प्रतितोला ३ लाख ११ हजार नाघ्यो, चाँदी पनि बढ्यो

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार महसुल दरमा १० प्रतिशत वृद्धि गरेसँगै नेपाली बजारमा सुनको मूल्यमा अहिलेसम्मकै ठुलो वृद्धि भएको छ। बजेट भाषण लगत्तै खुलेको बजारमा छापावाल सुनको मूल्य एकैपटक प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि गत जेठ १५ गते बजेट सार्वजनिक हुनुभन्दा अगाडि सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो।

यसै गरी, १० ग्राम सुनको मूल्यमा पनि भारी वृद्धि भई २ लाख ६६ हजार ७२० रुपैयाँ तोकिएको छ, जुन दुई दिनअघि मात्रै २ लाख ४९ हजार १४० रुपैयाँ मात्र थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ, जुन जेठ १५ गते प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

यसै गरी आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५८३ रुपैयाँ कायम गरिएको छ। सरकारले भन्सार दर बढाएपछि सुनचाँदीको मूल्य आकाशिएकाले बजारमा कारोबार प्रभावित हुनसक्ने व्यवसायीहरूले बताएका छन्।

छुटाउनुभयो कि ?