बकर इदले राष्ट्रिय एकता र आपसी भाइचारालाई अझ प्रगाढ बनाउनेछ: राष्ट्रपति पौडेल

बकर इदले राष्ट्रिय एकता र आपसी भाइचारालाई अझ प्रगाढ बनाउनेछ: राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने बताएका छन्।

मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) को पावन अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ बलियो बनाउँदै देशको समृद्धि र चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरेका छन्।

मुस्लिम समुदायमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने यो पर्वको आफ्नै विशिष्ट महत्त्व छ। यस अवसरमा समुदायका नागरिकहरू खुलास्थान, इदगाह वा मस्जिदहरूमा भेला भई सामूहिक रूपमा नमाज पढ्नुका साथै हर्षोल्लासका साथ चाड मनाउने गर्दछन्।

राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाजसेवाको उच्च सन्देश बोक्ने यस्ता चाडपर्वहरूले देशका विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरूको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम राख्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

यसका साथै बकर इदले समाजमा सामाजिक सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा आ-आफ्नो मौलिक संस्कृति तथा परम्पराको संरक्षण, संवर्द्धन र विकासमा थप टेवा पुग्ने अपेक्षा राष्ट्रपति पौडेलले गरेका छन्।

यस पर्वको माध्यमबाट सबै नेपालीबीच प्रेम, करुणा, त्याग र राष्ट्रिय एकताको भावना बलियो बन्दै जाओस् भन्दै उनले 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भनी देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?