काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गर्दै राजस्थान रोयल्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। यो सानदार जितसँगै राजस्थान उपाधि भिडन्तको थप नजिक पुगेको छ।
अब फाइनल प्रवेशका लागि राजस्थानले पहिलो क्वालिफायरमा पराजित भएको गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। यस खेलको विजेताले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलोर (आरसिबी) सँग उपाधिका लागि भिड्नेछ।
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले आक्रामक सुरुवात गरेको थियो। राजस्थानले उत्कृष्ट प्रदर्शन गर्दै ९ ओभरको समाप्तिमा केवल १ विकेट गुमाएर १२९ रन बनाएको थियो। राजस्थानका लागि वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै मात्र २९ बलमा ९७ रनको यादगार इनिङ्स खेले। उनले आफ्नो इनिङ्सका क्रममा १२ वटा गगनचुम्बी छक्का प्रहार गरे।
यस विस्फोटक ब्याटिङसँगै वैभवले एकै आईपीएल सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने क्रिस गेलको १४ वर्ष पुरानो ऐतिहासिक कीर्तिमान समेत तोडेका छन्। सन् २०१२ को सिजनमा गेलले ५९ छक्का प्रहार गरेकोमा सूर्यवंशीले यस सिजन आफ्नो छक्काको संख्या ६५ पुर्याउँदै नयाँ कीर्तिमान स्थापित गरेका हुन्। सुरुवाती आक्रामक ब्याटिङको मद्दतले राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको विशाल योगफल तयार पारेको थियो।
२४४ रनको विशाल र चुनौतीपूर्ण लक्ष्य पछ्याएको सनराइजर्स हैदरावादले बलियो जवाफ फर्काउन सकेन। हैदरावाद १९ ओभर २ बलमा १९६ रन बनाउँदै अलआउट भयो। राजस्थानका बलरहरू सामु हैदरावादका ब्याटरहरू खुलेर खेल्न नसक्दा टोली ४७ रनले पराजित हुन पुग्यो।
यो हारसँगै हैदरावादको यस सिजनको आईपीएल यात्रा समाप्त भएको छ भने राजस्थानले फाइनल यात्राका लागि आफ्नो सम्भावना कायमै राखेको छ।