काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण र हिमाली वातावरणको संरक्षण वर्तमान समयको मुख्य आवश्यकता भएको बताएका छन् ।
विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीहरूको सम्मानमा बुधबार शीतल निवासमा आयोजित ‘नेपालका राष्ट्रपतिसँग सगरमाथा आरोहीहरूको ब्रेकफास्ट’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
सगरमाथालाई नेपालको भौगोलिक पहिचान मात्र नभई देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदाको रूपमा चित्रण गर्दै राष्ट्रपति पौडेलले भने, "यी प्राकृतिक सम्पदाको संरक्षण, संवर्द्धन, प्रचारप्रसार र सन्तुलित उपयोगबाट पर्यटन क्षेत्रमार्फत नेपालको अर्थतन्त्रमा ठुलो टेवा पुगेको छ ।"
यद्यपि, विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका नकारात्मक असर र पर्वतारोहण क्षेत्रमा थुप्रिँदै गएको फोहोर पछिल्लो समय मुख्य चुनौती बनेको तर्फ उनले चिन्ता व्यक्त गरे ।
"यी समस्याहरू समाधान गर्दै सगरमाथा क्षेत्रको पर्यावरण र जैविक विविधता जोगाउन पर्वतारोहणलाई सुरक्षित, दिगो तथा प्रविधिमैत्री बनाउन आवश्यक छ । यसका लागि थप प्रयास र सामूहिक सहकार्य जरुरी भइसकेको छ," उनले जोड दिए ।
हिमाल र हिमाली पर्यावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य, संवाद र सचेतना बढाउन विश्वभरका आरोहीहरूलाई एकै ठाउँमा भेला गराएर गरिएको यो सम्मेलनको विशेष महत्त्व रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।
आरोहीहरूले आफ्नो यात्राका क्रममा सँगालेका अनुभव र ज्ञानले सगरमाथालाई यसको प्राकृतिक स्वरूपमै जीवन्त राख्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले सम्मेलनले यस विषयमा विशेष ध्यान दिने आशा समेत प्रकट गरे ।