काठमाडौं। आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकाविरुद्ध १२२ रनको फराकिलो र ऐतिहासिक जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाहुना टोली अमेरिका ४१ दशमलव दुई ओभरमा मात्र १९५ रन जोड्दा अलआउट भयो।
अमेरिकालाई सस्तैमा समेट्न नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। कसिलो बलिङ गर्ने क्रममा सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले समान दुई–दुई विकेट बाँडे। बाँकी एक विकेट सोमपाल कामीको नाममा रह्यो।
अमेरिकाका लागि सञ्जय कृष्णमूर्तीले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यसबाहेक नोथुष केन्जिगेले २९, शयान जहाङ्गिरले २७, शेहान जयसूर्याले २६ र कप्तान शैतेजा मुक्कामुल्लाले २२ रन जोड्नु बाहेक अन्य ब्याटर चल्न सकेनन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१७ रनको बलियो योगफल खडा गरेको थियो। नेपालको ब्याटिङ इनिङ्समा इशान पाण्डेले सर्वाधिक ८४ रनको योगदान दिए।
उनले मात्र ८३ बल खेल्ने क्रममा आठ चौका र एक छक्का प्रहार गर्दै आक्रामक पारी खेलेका थिए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले ५९ रनको अर्धशतकीय योगदान दिँदा कप्तान रोहित पौडेलले ४६, आशिफ शेखले ४३, कुशल भुर्तेलले २९, आरिफ शेखले १८ र गुल्सन झाले १५ रन जोडेका थिए। अमेरिकाका तर्फबाट शुभम रन्जानेले तीन विकेट तथा मिलिन्द कुमार र रुसिल उगारकरले एक–एक विकेट हात पारे।
आजको महत्त्वपूर्ण जितसँगै नेपालले अङ्क तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ। नेपालले अहिलेसम्म खेलेका २८ खेलमध्ये ११ जित, १५ हार र दुई वटा अनिर्णित नतिजासहित कुल २४ अङ्क जोड्न सफल भएको छ।