काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिन बिहीबार तोलामा एक हजार आठ सय रुपैयाँले बढेको सुनको भाउ आज भने तोलामा जम्मा एक सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९३ हजार सात सय रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन यसको मूल्य प्रतितोला दुई लाख ९३ हजार आठ सय रुपैयाँ रहेको थियो। यसै गरी, गत हप्ताको शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ घटे पनि आज चाँदीको मूल्यमा भने उत्साहजनक वृद्धि भएको छ। चाँदी आज तोलामा ६५ रुपैयाँले बढेको हो।
महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पाँच हजार ११५ रुपैयाँ कायम भएको छ। यसअघि गत हप्ताको शुक्रबार चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको थियो।