एक साताको भारी गिरावटपछि सुनको मूल्यमा सामान्य सुधार

एक साताको भारी गिरावटपछि सुनको मूल्यमा सामान्य सुधार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेको छ।

नयाँ मूल्य सूची अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन (बुधबार) सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

बुधबारको तुलनामा सुधार आए पनि सुनको मूल्य अघिल्लो साताको तुलनामा भने अझै निकै कम हो। गत बिहीबार सुनको मूल्य इतिहासकै उच्च विन्दु आसपास अर्थात् प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ पुगेको थियो, जसको तुलनामा यो साता सुन तोलामा ८ हजार ७ सय रुपैयाँले घटेको देखिन्छ।

यसैगरी, बिहीबार चाँदीको भाउमा पनि तोलामा ९० रुपैयाँको वृद्धि भएको छ। महासंघले यस दिनका लागि चाँदीको मूल्य प्रतितोला ५ हजार ५० रुपैयाँ तोकेको छ, जबकि अघिल्लो दिन यसको मूल्य ४ हजार ९६० रुपैयाँ थियो। सुन जस्तै चाँदी पनि गत साताको तुलनामा सस्तिएको छ; गत बिहीबार चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँको उच्च विन्दुमा कारोबार भएको थियो।