मनसुनजन्य विपद् प्रतिकार्यका लागि कस्तो छ नेपाली सेनाको तयारी ?

मनसुनजन्य विपद् प्रतिकार्यका लागि कस्तो छ नेपाली सेनाको तयारी ?

काठमाडौं। नेपाली सेनाले विगतका वर्षहरूमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ।

मनसुनजन्य विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सेनाले संघीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँगको सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिएको छ।

विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लास्थित सैनिक गण तथा गुल्महरूमा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ भने प्रदेशस्थित सबै पृतनाहरूमा आवश्यक उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ, जसले बाढी र पहिरोका घटनामा छिटो उद्धार सम्भव हुने अपेक्षा गरिएको छ।

विपद्को समयमा दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि हाइ अलर्टमा राखेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाडौंबाहेक सुर्खेत र इटहरीमा एक-एक वटा हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको छ भने सातै प्रदेशमा परिचालन हुन सक्ने गरी अन्य हवाई साधनहरू काठमाडौंमा तयारी अवस्थामा छन्।

बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न धादिङको गजुरी, चितवनको भरतपुर तथा बाराको जितपुरमा एक-एक सेट बेलिब्रिज तयारी अवस्थामा राखिएको छ। साथै, गाडीमार्फत सजिलै आवश्यकता भएको स्थानमा पुर्‍याएर तुरुन्त सञ्चालन गर्न सकिने तीन वटा द्रुत यान्त्रिक पुलहरू र विशेष उद्धारका लागि शीघ्र प्रतिकार्य टोली काठमाडौंको गौचरस्थित ब्यारेकमा तयारी अवस्थामा राखिएको छ।

विपद्का समयमा घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने गरी आवश्यक जनशक्ति, उपकरण र औषधि व्यवस्थापन गरिएको छ। यसका साथै प्रत्येक पृतनामा औषधि, खाद्यान्न तथा अन्य राहत सामग्रीको भण्डारण गरिएको छ भने पहिरो पन्छाउन र सडक खुलाउन सैनिक इन्जिनियरिङ विभागबाट ‘हेभी इक्विप्मेन्ट’ तथा ‘अपरेटर’हरू तुरुन्त परिचालन हुन सक्ने गरी राखिएका छन्। सेनाले विपद् व्यवस्थापन केवल एउटा निकायको प्रयासबाट मात्र सम्भव नहुने भएकाले स्थानीय समुदाय र सबै सरोकारवाला निकायबीच समन्वयात्मक प्रतिकार्य आवश्यक रहेको जनाएको छ।

तयारीलाई अझ व्यावहारिक र प्रभावकारी बनाउन सेनाको नेतृत्वमा गत वैशाख २१ देखि २३ गतेसम्म जंगी अड्डामा केन्द्रीय तहको एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ सञ्चालन गरिएको थियो, जसमा विभिन्न मन्त्रालय, सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहभागिता रहेको थियो। यस्ता अभ्यासहरू क्रमशः प्रदेश र जिल्ला तहसम्म सञ्चालन गरिने र स्थानीय समुदायको सहभागितामा सामूहिक विपद् प्रतिकार्य तालिम समेत दिइने सेनाले जनाएको छ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार प्रत्येक वर्ष दोहोरिने मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि सबै सरोकारवालासँग समन्वय गरी जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना कटिबद्ध रहेको छ, जसले नागरिकमा सुरक्षा र भरोसाको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?