सहकारी पीडितलाई राहत: कृषि र शिव शिखरका थप ३०४ बचतकर्ताले पाए पैसा

सहकारी पीडितलाई राहत: कृषि र शिव शिखरका थप ३०४ बचतकर्ताले पाए पैसा

काठमाडौं। सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज एक विशेष कार्यक्रमका बीच कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताहरूलाई उनीहरूको रकम भुक्तानी गरेको हो।

समितिको पछिल्लो विवरण अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले आफ्नो सञ्चित बचत फिर्ता पाएका छन्।

यसअघि पनि समितिले विभिन्न समस्याग्रस्त सहकारीका साना बचतकर्ताको हितलाई ध्यानमा राख्दै ठूलो संख्यामा रकम फिर्ता गरिसकेको छ। जसअन्तर्गत कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना गरी कुल ३ सय ७८ जना साना बचतकर्ताको रकम अघिल्लो चरणमा फिर्ता गरिएको थियो।

समितिले पहिलो चरणमा थोरै बचत रकम भएका सर्वसाधारणलाई प्राथमिकतामा राखेर यो प्रक्रिया अघि बढाएको स्पष्ट पारेको छ। आगामी दिनमा पनि बचतकर्ताहरूको रकमको मौज्दात आधारमा वर्गीकरण गर्दै क्रमशः सबैको रकम फिर्ता गर्दै जाने समितिको योजना रहेको छ।

हाल सरकारी तथ्यांक अनुसार समस्याग्रस्त घोषित विभिन्न सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको कुल ४६ अर्ब रुपैयाँभन्दा बढी बचत रकम फिर्ता गर्नुपर्ने दायित्व रहेको छ। राहतको कुरा के छ भने यी कुल पीडितहरूमध्ये अधिकांश संख्या साना बचतकर्ताकै रहेको छ।

समितिले न्यायोचित व्यवस्थापनका लागि पाँच लाख रुपैयाँभन्दा कम बचत भएकाहरूलाई साना बचतकर्ता र पाँच लाख रुपैयाँभन्दा बढी बचत रकम भएकाहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेको छ। कुल ७६ हजार पीडित बचतकर्ताहरूमध्ये पाँच लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्ने ठूला बचतकर्ताहरूको संख्या जम्मा १८ हजार मात्र रहेको र बाँकी सबै साना बचतकर्ता भएकाले उनीहरूलाई प्राथमिकताका साथ रकम फर्काउने कार्य भइरहेको समितिले जनाएको छ।

छुटाउनुभयो कि ?