लिग–२ क्रिकेट: ग्लोबल क्वालिफायरको सम्भावना जीवितै राख्न आज नेपाल र स्कटल्याण्ड भिड्दै

लिग–२ क्रिकेट: ग्लोबल क्वालिफायरको सम्भावना जीवितै राख्न आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडाैं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुने यो खेल नेपालका लागि निकै निर्णायक मानिएको छ।

जारी त्रिकोणीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्डबीच हालसम्म तीनवटा खेल सम्पन्न भइसकेका छन्। जसमा स्कटल्याण्डले आफ्ना दुवै खेलमा जित निकाल्दै बलियो उपस्थिति जनाएको छ।

स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनको झिनो अन्तरले हराएको थियो भने दोस्रो खेलमा अमेरिकामाथि पनि सोही नियम र समान अन्तरले नै जित दर्ता गरेको थियो।

घरेलु मैदानमा भएको तेस्रो खेलमा भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई नौ विकेटको विशाल अन्तरले पराजित गरेको थियो। गत शनिबारको सोही जितबाट उत्साहित बनेको नेपाली टोली आज स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने आफ्नो सम्भावनालाई गणितीय रूपमा जीवितै राख्ने दाउमा छ।

लिग-२ को अंक तालिकामा नेपाल अहिले निकै कठिन परिस्थितिमा छ। कुल आठ टोली सहभागी प्रतियोगिताको सातौँ स्थानमा रहेको नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न अब बाँकी रहेका सबै १० वटा खेल जित्नुपर्ने दबाब छ।

यसका साथै आफ्नो एकदिवसीय (ओडिआई) मान्यता जोगिने सुनिश्चित गर्नका लागि पनि नेपाल कम्तीमा शीर्ष छ स्थानभित्र पर्नु अनिवार्य छ, जसका कारण आजको भिडन्त नेपालका लागि ‘गर या मर’ को स्थितिमा रहेको छ।

हालको अंक तालिकाको समीकरण हेर्दा नेपालले २६ खेल खेल्दै नौ खेलमा जित, १५ खेलमा हार र दुई खेलमा नतिजाविहीन रहँदै कुल २० अङ्क मात्र जोड्न सकेको छ। अर्कोतर्फ, आजको प्रतिद्वन्द्वी स्कटल्याण्ड भने तालिकाको शीर्ष स्थानमा बलियो गरी जमेको छ।

स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित रहँदा कूल ३८ अङ्क जोडेर पहिलो स्थान सुरक्षित गरिसकेको छ। यस्तो अवस्थामा शीर्ष टोलीलाई उसैको मैदानमा चुनौती दिएर स्तब्ध पार्नु नेपाली टोलीका लागि प्रतिष्ठा र भविष्य दुवैका दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिएको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?