काठमाडाैं। स्थानीय बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो।
महासङ्घले निर्धारण गरेको नयाँ दरअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसअघि गत मंगलबार भने सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँ रहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ। आज चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँ कायम भएको छ, जुन हिजो बुधबार ५ हजार ७१० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ४ हजार ७०० अमेरिकी डलर र चाँदी ८७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको समाचार संस्थाहरूले जनाएका छन्।