गुजरातको पन्जाबाट उम्किन सकेन हैदरावाद, ८२ रनको विशाल जितसँगै गुजरात शीर्ष स्थानमा

गुजरातको पन्जाबाट उम्किन सकेन हैदरावाद, ८२ रनको विशाल जितसँगै गुजरात शीर्ष स्थानमा

काठमाडौं। गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। अहमदावादमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्दै गुजरातले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको हो। यो गुजरातको लगातार पाँचौँ जित हो।

जितसँगै १० खेल खेलेको गुजरात १६ अंकका साथ तालिकाको पहिलो स्थानमा पुगेको छ भने पराजित हैदरावाद १४ अंकसहित तेस्रो स्थानमा खुम्चिएको छ।

गुजरातले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पछ्याएको हैदरावादको ब्याटिङ ध्वस्त भयो। हैदरावाद १४.५ ओभरमा मात्र ८६ रन बनाउँदा अलआउट हुन पुग्यो। टोलीका लागि कप्तान प्याट कमिन्सले बनाएको १६ रन नै सबैभन्दा उच्च स्कोर रह्यो भने अन्य ब्याटरहरू क्रिजमा टिक्न सकेनन्। हैदरावादलाई सस्तैमा समेट्न गुजरातका जेसन होल्डर र कगिसो रबाडाले उत्कृष्ट बलिङ प्रदर्शन गरे। होल्डर र रबाडा दुवैले समान ३–३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। गुजरातको पालीमा साई सुदर्शनले ६१ र वासिङ्टन सुन्दरले ५० रनको महत्वपूर्ण अर्धशतकीय योगदान दिएका थिए। सन्तुलित ब्याटिङ र घातक बलिङको मद्दतले गुजरातले खेलमा पूर्ण नियन्त्रण जमाउन सफल भयो।

छुटाउनुभयो कि ?