काठमाडौं। भन्सार विभागले व्यापार सहजीकरणलाई थप आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ।
विभागको सूचना प्रविधि प्रणाली सञ्चालन तथा विकास शाखाले एक सूचना जारी गर्दै 'NNSW' पोर्टल मार्फत टीआइभी घोषणा कार्य सुरु भएको जानकारी दिएको हो।
विभागको २०८३ वैशाख १७ गतेको निर्णयअनुसार यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार अब सेवाग्राहीले टीआइभी डिक्लेरेसन गर्दा म्यानुअल (भौतिक) वा ई-पेमेन्ट (विद्युतीय भुक्तानी) दुवै माध्यमबाट भुक्तानी गर्न सक्ने सुविधा मिलाइएको छ।
विभागले देशभरका सबै भन्सार कार्यालयहरू र तोकिएका मातहतका कार्यालयहरूलाई टीआइभी सम्बन्धी कार्यहरू अबदेखि एनएनएसडब्लु पोर्टल प्रयोग गरी नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।
यसअघि परम्परागत शैलीमा हुँदै आएका यस्ता घोषणा कार्यलाई अब पूर्ण रूपमा डिजिटल पोर्टलमा आबद्ध गराउन खोजिएको विभागको भनाइ छ।
सेवाग्राहीको सहजताका लागि विभागले आफ्नो आधिकारिक वेबसाइट www.customs.gov.np मा टीआइभी मोड्युलको लिंक थप गरेको छ। साथै, मोबाइलबाट सिधै स्क्यान गरेर घोषणा प्रक्रियामा जानका लागि सूचनामा क्यूआर कोड समेत उपलब्ध गराइएको छ। सिधै https://nnsw.gov.np/tiv/gen मा गएर पनि यो सेवा लिन सकिने विभागका कम्प्युटर इन्जिनियर शम्भु बोगटीद्वारा जारी पत्रमा उल्लेख छ।
भन्सार प्रक्रियालाई कागजरहित बनाउने र व्यापारिक कारोबारमा पारदर्शिता ल्याउने सरकारको नीतिअनुरूप यो कदम चालिएको बुझिएको छ। यस प्रणालीको सुरुवातसँगै भन्सार बिन्दुहरूमा हुने भीडभाड कम हुने र काम छिटो छरितो हुने अपेक्षा गरिएको छ।