काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा रिक्त रहेका पाँच जना सञ्चालक समिति सदस्य पदका लागि औपचारिक रूपमा दरखास्त आह्वान गरेको छ।
यसअघि मन्त्रालयले गत वैशाख १२ गते गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी रिक्त चार सदस्यका लागि आवेदन मागेको थियो। तर, आवेदन संकलनको प्रक्रिया चलिरहेकै समयमा कानुनी व्यवस्थामा आएको परिवर्तनका कारण रिक्त पदको संख्या थपिएको हो।
यही वैशाख १९ गते जारी भएको 'सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३' बमोजिम निगमका बाँकी एक जना सञ्चालक समिति सदस्य पनि स्वतः पदमुक्त भएपछि मन्त्रालयले कुल पाँच सदस्य नियुक्त गर्नुपर्ने अवस्था आएको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यका अनुसार साविककै विज्ञापनको आधार र प्रक्रिया कायम रहने गरी अब पाँचै जना सदस्यका लागि छनोट प्रक्रिया अगाडि बढाइनेछ।
निगमको सञ्चालन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले योग्य र अनुभवी विज्ञहरूको खोजी गरिरहेको छ। अध्यादेशका कारण रिक्त हुन पुगेको थप एक पदलाई समेत समावेश गरी अब एकीकृत रूपमा नियुक्ति प्रक्रिया टुङ्ग्याइने मन्त्रालयको तयारी छ।
निगमको सञ्चालक समितिमा रहने सदस्यहरूले राष्ट्रिय ध्वजावाहकको व्यावसायिक सुधार र रणनीतिक योजना निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भएकाले यो नियुक्तिलाई निकै चासोका साथ हेरिएको छ। मन्त्रालयले तोकिएको मापदण्ड पूरा गरेका इच्छुक उम्मेदवारहरूलाई साविककै सूचना बमोजिम आवेदन दिन सूचित गरेको छ।