नीतिगत स्थिरता र आर्थिक सुधारका लागि वर्तमान सरकारको पूर्ण कार्यकालको दाबी

नीतिगत स्थिरता र आर्थिक सुधारका लागि वर्तमान सरकारको पूर्ण कार्यकालको दाबी

काठमाडाैं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार बाह्रखरी मिडियाद्वारा आयोजित एक विशेष कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले अब नेपालले परम्परागत शैलीबाट माथि उठेर आर्थिक रूपान्तरणमा ठूलो फड्को मार्नुपर्ने आवश्यकता औंल्याए। उनले ऐतिहासिक तथ्य प्रस्तुत गर्दै सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी जुन बिन्दुमा थियो, हाल नेपाल पनि सोही अवस्थामा पुगेकाले यसलाई नेपालको लागि 'आर्थिक प्रस्थान बिन्दु' मान्नुपर्ने तर्क गरे। अबको समय सुशासन र आर्थिक वृद्धिको स्पष्ट मार्गचित्रसहित अघि बढ्ने अवसर भएको भन्दै उनले अर्थतन्त्रलाई गति दिने विश्वास दिलाए।

अर्थमन्त्री वाग्लेले आफूले विगत एक दशकभन्दा लामो समयदेखि उठाउँदै आएको 'तौलरहित र दूरीरहित' अर्थतन्त्रको अवधारणालाई अब कार्यान्वयनको तहमा लैजाने घोषणा गरे। नेपालको भूपरिवेष्ठित अवस्थितिले सिर्जना गरेका भौगोलिक अवरोधहरूलाई चिर्न डिजिटलाइजेसन नै सबैभन्दा प्रभावकारी अस्त्र हुने उनको दाबी छ।

सूचना प्रविधिलाई सरकारले उच्च प्राथमिकता दिएकै कारण सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएको जानकारी दिँदै उनले यस कदमबाट सेवा प्रवाहमा आमूल परिवर्तन र क्रान्ति आउने विश्वास व्यक्त गरे। प्रविधिको उच्चतम प्रयोगमार्फत अर्थतन्त्रका अवरोधहरू हटाउने सरकारको प्रमुख लक्ष्य रहेको उनको भनाइ थियो।

राजनीतिक स्थिरताका सन्दर्भमा बोल्दै अर्थमन्त्री वाग्लेले वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दाबी गरे। सरकारको यो स्थिरताले लगानीकर्ताहरूका लागि नीतिगत सुनिश्चितता प्रदान गर्ने र ढुक्क भएर लगानी गर्ने वातावरण सिर्जना गर्ने उनले बताए।

सरकारले कानुन कार्यान्वयनको सवालमा निकै निर्मम र कठोर नीति लिने स्पष्ट पार्दै उनले इमानदार उद्यमीहरूलाई कुनै पनि प्रकारको भय नपाल्न आग्रह गरे। राज्यले उद्यमीको लगानीको सुरक्षा, व्यक्तिगत सम्पत्तिको रक्षा र व्यावसायिक करारहरूको अक्षरसः कार्यान्वयनलाई उच्च प्राथमिकता दिने भएकाले आगामी बजेटले निजी क्षेत्रका धेरैजसो समस्या सम्बोधन गर्ने उनले आश्वासन दिए।