जेनजी आन्दोलनका घाइतेहरूको सूचीकरण सम्पन्न, कुल संख्या २ हजार ६६० पुग्यो

जेनजी आन्दोलनका घाइतेहरूको सूचीकरण सम्पन्न, कुल संख्या २ हजार ६६० पुग्यो

काठमाडौं। सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको प्रमाणीकरण र सूचीकरण कार्य सम्पन्न गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो पटक प्राप्त नामावलीमध्ये थप २२ जनाको नाम समावेश गरेसँगै आन्दोलनका घाइतेहरूको अन्तिम विवरण सार्वजनिक गरिएको हो।

स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले तोकेको मापदण्ड पूरा भएका घाइतेहरूको सूचीकरण गर्ने कार्य अब पूर्ण भएको छ।

निर्वाचनपछि नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र विभिन्न निकायहरूबाट थप २५० जनाको नाम घाइतेको सूचीमा समावेश गर्न सिफारिस भई आएको थियो।

यद्यपि, तीमध्ये मन्त्रालयको कडा मापदण्डभित्र परेका २२ जनाको मात्र प्रमाणीकरण गरिएको डा. बुढाथोकीले जानकारी दिए। यससँगै जेनजी आन्दोलनका क्रममा घाइते हुनेहरूको कुल सङ्ख्या दुई हजार ६६० पुगेको छ।

प्रमाणीकरण प्रक्रियाका बारेमा प्रष्ट पार्दै केन्द्रका प्रमुख बुढाथोकीले ती २२ जनाको नाम गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा अस्पतालमा रहेको उपचार 'रेकर्ड' र सम्बन्धित अस्पतालका प्रमुखले पठाएको आधिकारिक पत्रका आधारमा मात्र सूचीकृत गरिएको बताए।

गत भदौमा भएको उक्त आन्दोलनका क्रममा देशभरका ९९ वटा अस्पतालहरूमा घाइतेहरूको उपचार गरिएको थियो। अस्पतालको आधिकारिक तथ्यांकसँग मेल खाने विवरणलाई मात्र मन्त्रालयले मान्यता दिएको हो।

नयाँ प्रमाणीकरण गरिएका २२ जनाको नाम आवश्यक थप प्रक्रियाका लागि गृह मन्त्रालयमा पठाइसकिएको छ। सरकारको यो सूचीकरणमा परेका जेनजी घाइतेहरूले राज्यका तर्फबाट विशेष सुविधा प्राप्त गर्नेछन्।

यसअन्तर्गत उनीहरूले शिक्षामा छात्रवृत्ति कोटा, रोजगारीको अवसर र निशुल्क उपचारको सुविधा पाउने कानुनी व्यवस्था रहेको छ। यस सूचीकरणले वास्तविक पीडितहरूलाई सरकारी सेवा सुविधासम्म पहुँच पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।