राजस्थान रोयल्सको सानदार जित, बेंगलुरु ६ विकेटले पराजित

राजस्थान रोयल्सको सानदार जित, बेंगलुरु ६ विकेटले पराजित

गुवाहाटी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १६औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गरेको छ। गुवाहाटीको बरसापारा स्टेडियममा भएको खेलमा बेंगलुरुले दिएको २०२ रनको बलियो लक्ष्यलाई राजस्थानले १८ ओभरमै मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो।

राजस्थानको जितमा युवा ब्याटर वैभव सूर्यवंशी र ध्रुव जुरेलले उत्कृष्ट प्रदर्शन गरे। वैभव सूर्यवंशीले मात्र २६ बलमा ७८ रनको विष्फोटक इनिङ खेले, जसमा ७ छक्का र ८ चौका सामेल थिए। उनले मात्र १५ बलमा अर्धशतक पूरा गर्दै बेंगलुरुका बलरहरूलाई दबाबमा राखेका थिए।

ध्रुव जुरेलले ४३ बलमा ८१ रन बनाउँदै नटआउट रहे र टोलीलाई जितसम्म पुर्‍याए। सूर्यवंशी र जुरेलबीच १०८ रनको साझेदारी भएको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०१ रन बनाएको थियो।

कप्तान रजत पाटीदारले ४० बलमा ६३ रनको कप्तानी इनिङ खेले।

विराट कोहलीले १६ बलमा ३२ रन जोडे भने इम्प्याक्ट प्लेयरका रूपमा आएका भेङ्कटेश अय्यरले २९ रनको योगदान दिएका थिए।

राजस्थानका बलरहरू जोफ्रा आर्चर, रवि विष्णोई र बृजेश शर्माले २–२ विकेट लिए।

यो जितसँगै राजस्थान रोयल्स लगातार चार खेल जित्दै ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायमै छ। बेंगलुरुका लागि भने यो सिजनको दोस्रो हार हो र टोली तालिकाको तेस्रो स्थानमा झरेको छ।

उत्कृष्ट ब्याटिङ गरेका वैभव सूर्यवंशी 'प्लेयर अफ द म्याच' घोषित भए।