काठमाडौं । फागुन २१ मा भएको प्रतिनिछि सभा निर्वाचनभन्दा अगाडि सबैभन्दा ठूला रहेका ३ दलका तर्फबाट प्रधानमन्त्री बनेका ३ पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको हो ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डमाथि अनुसन्धान सुरु भएको हो । अनुसन्धानका लागि विभागले प्रहरीलाई पनि पत्राचार गरेको छ र विभागसँगै प्रहरीले पनि अनुसन्धान अगाडि बढाएको छ ।
तीन पूर्वप्रधानमन्त्रीसँगै दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ। आरजु राणाका भाइ भुषण राणामाथि पनि अनुसन्धान भइरहेको छ ।
प्रहरीले हिजो पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रहेश लेखकलाई पक्राउ गरेको थियो । उनीहरू दुवैलाई हिजो ज्यानसम्बन्धि मुद्दामा पक्राउ गरिएको हो । सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अगाडि बढाएको मुद्दा छुट्टै हो । विभागले अनुसन्धान गरिरहेको मुद्दामा आज पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
देउवा दम्पति देशबाहिर छन् । प्रचण्ड र भूषण राणालाई भने पक्राउ गरिएको छैन । सम्पत्ती शुद्धीकरणको मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । ओली र लेखको ज्यानसम्बन्धी छुट्टै मुद्दामा भने जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।