काठमाडौं। नेपालको सेयर बजारले पुनः ‘बुल’ यात्रालाई निरन्तरता दिएको छ। राजनीतिक स्थिरताको अपेक्षा र सरकारी नीतिमा सुधार हुने लगानीकर्ताको भरोसाले बजारलाई गति दिएको हो। मंगलबारको कारोबारसँगै नेपालको कुल बजार पुँजीकरण ५० खर्ब रुपैयाँको मनोवैज्ञानिक सीमा पार गर्दै ऐतिहासिक उचाइतर्फ अघि बढेको छ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार बजार पुँजीकरण ५० खर्ब २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
यसअघि साउन १३ गते ५० खर्ब ९ अर्बको पुँजीकरणसहित बजारले हालसम्मकै उच्च रेकर्ड बनाएको थियो। देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँग तुलना गर्दा सेयर बजारको यो आकार करिब ८० प्रतिशत बराबर हो, जुन अर्थतन्त्रको विस्तारका लागि सकारात्मक संकेत मानिन्छ।बजारको आकार बढ्नुमा नयाँ कम्पनीहरूको प्रवेश अर्को प्रमुख कारण बनेको छ। पछिल्ला दुई आर्थिक वर्षमा सूचीकृत भएका २४ वटा नयाँ कम्पनीले बजारमा झण्डै २ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको थप पुँजीकरण भित्र्याएका छन्।
सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, बन्दीपूर र एसवाई प्यानलजस्ता कम्पनीहरूको आगमनले बजारको गहिराइ थप बढाएको छ।प्राविधिक रूपमा पनि बजार बलियो देखिएको छ। पछिल्ला पाँच दिनदेखि नेप्से परिसूचक लगातार बढिरहेको छ।
मंगलबार सूचक २३.८३ अंकले उकालो लाग्दै २९६०.४० विन्दुमा बन्द भएको छ। मैनबत्ती विश्लेषण (क्यान्डलस्टिक चार्ट) मा देखिएको ‘इन्भर्टेड ह्यामर’ आकृतिले बजारमा खरिदकर्ता हाबी रहेको र विक्रेताहरू क्रमशः रक्षात्मक बनेको संकेत गर्छ। यसले बजार ३२२७ विन्दुको ऐतिहासिक रेकर्डलाई चुनौती दिने बलियो सम्भावना देखाएको छ।समूहगत रूपमा हेर्दा व्यापारिक समूहमा ९.१२ प्रतिशतको आकर्षक वृद्धि देखिएको छ भने विकास बैंक, बैंकिङ र जलविद्युत् समूहले पनि बजारलाई साथ दिएका छन्।
यद्यपि, कारोबार रकममा भने पछिल्ला दिनमा केही सुस्तता देखिएको छ। मंगलबार करिब १४ अर्ब ८३ करोडको कारोबार भएको छ। विश्लेषकहरूका अनुसार राजनीतिक वातावरणमा आएको सुधार र पुँजी बजारमैत्री नीतिको प्रतीक्षाले लगानीकर्ताहरू थप सकारात्मक बनेका छन्, जसले बजारलाई नयाँ ऐतिहासिक उचाइतर्फ डोर्याइरहेको छ।