काठमाडौं। मध्यपूर्व क्षेत्रमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको १५औँ दिनपछि नेपालमा कतारबाट उडान हुने भएको छ । अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भइरहेको दुई हप्तापछि कतारको राजधानी दोहाबाट काठमाडौं उडान तालिका सार्वजनिक भएको छ।
कतार एयरवेजले विभिन्न देशका लागि सार्वजनिक गरेको तालिकाअनुसार १६ र १७ मार्च अर्थात् चैत २ र ३ गते दोहा–काठमाडौं उडान हुने जनाएको छ। यसैगरी १७ र १८ मार्च अर्थात् चैत ३ र ४ गते काठमाडौं–दोहा उडान तालिका राखिएको छ। यसअघि फागुन १६ गतेदेखि नेपालबाट कतार, कुवेत, साउदी अरबमा उडान बन्द रहेको थियो ।
कतार लगायत मध्यपूर्वका नौ वटा देशको हवाई आकाशमा प्रतिबन्धपछि कतार एयरवेजका दुई वाइडबडी जहाज नेपालमै रोकिएका थिए । नेपालमा रोकिएका दुई ठूला जहाज मध्य एक जहाज १० दिनपछि नेपालबाट यूरोपतर्फ लागेको छ भने अर्काे जहाज १५ दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ ।
अव नेपालबाट कतार उडान सुरु भएसँगै उक्त गन्तव्यमा जान चाहने वा दोहा ट्रान्जिट हुँदै अन्य गन्तव्यमा जाने यात्रुहरूले यो उडान प्रयोग गर्न सक्नेछन्। कतार एयरवेजले काठमाडौंसँगै नयाँदिल्ली, मुम्बई, ढाका, बैंकक, इस्तानबुल, लन्डन, पेरिस लगायतका एसियाली तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने तयारी गरेको हो।
दोहा विश्वका प्रमुख ट्रान्जिटमध्ये एक भएकाले नेपाल आउनेसँगै बाहिरिने यात्रुका लागि यस उडानले सहज हुने अनुमान गरिएको छ। कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विश्वका धेरै देशतर्फ यात्रु जाने गरेका छन्।