काठमाडाैं। घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक श्रीलंकाको विश्वकप यात्रा सुपर–८ चरणमै टुंगिएको छ। बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो।
कोलोम्बोमा भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो। न्युजिल्यान्डले दिएको १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो।
न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । म्याट हेनरीले २ ओभरमा १ मेडन राख्दै ३ रन मात्र दिएर २ विकेट लिए । कप्तान मिचेल सान्टनर र ग्लेन फिलिप्सले १–१ विकेट थपे।
यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्ड पनि सहज अवस्थामा भने थिएन । ८४ रनमा ६ विकेट गुमाएपछि टोली दबाबमा परेको थियो । तर कप्तान मिचेल सान्टनर र कोल मेकोन्चीले सातौँ विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरेछि न्युजिल्याण्ड बलियो अवस्थामा पुगेको थियो । सान्टनर २६ बलमा ४७ रन बनाउँदै अन्तिम बलमा आउट भए भने मेकोन्ची २३ बलमा ३१ रनमा अविजित रहे ।
रचिन रविन्द्र ३२, फिन एलेन २८ र ग्लेन फिलिप्स १८ रनमा आउट भए । श्रीलंकाका महीश थिक्साना र दुश्मान्था चमीराले ३–३ विकेट लिए पनि निर्णायक क्षणमा रन रोक्न नसक्दा टोली महँगो साबित भयो।
न्युजिल्यान्डले महत्वपूर्ण जितसँगै सेमिफाइनल दौड बलियो बनाएको छ ।