सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम संकलन रोक्न आग्रह

सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम संकलन रोक्न आग्रह

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले आफ्नो उपचारको लागि आवश्यक खर्च जुटेको बताएकी छन्। 

    कप्तान भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उपचारका लागि देश-विदेशबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको भन्दै सबै समर्थकप्रति आभार व्यक्त गरेकी छन्। उनले पछिल्लो २४ घण्टामा पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएकोसमेत उल्लेख गरेकी छन्। 

    भण्डारीले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो घुँडाको एसिएल शल्यक्रिया गर्नुपर्ने भएकाले सहयोगको अपिल गरेकी थिइन्। अपिल गरेको २४ घण्टाभित्र आवश्यक रकम उपलब्ध भएको छ।

उनले आफ्नो उपचारका लागि नेपाली बैंक खातामा एक करोडभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख (५२ हजार न्युजिल्यान्ड डलर) संकलन भइसकेको जानकारी दिएकी छन्।

    यस सहयोगले उपचार खर्चका साथै कतारमा उपचार अवधिमा लाग्ने आवास र यातायात खर्चसमेत पुग्ने देखिएकाले आजैदेखि दुवै खातामा रकम संकलन रोक्न अनुरोधसमेत गरेकी छन्। 

    भण्डारीले आफू आबद्ध क्लबले पनि शल्यक्रिया तथा पुनःस्थापनाका लागि बिमा रकम निकासा गरी थप सहयोग गरिरहेको जानकारीसमेत दिएकी छन्। छिट्टै शल्यक्रियाको मिति तय भएर उपचार प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

    चोटका कारण शारीरिकसँगै मानसिक रूपमा पनि थकित भएको उल्लेख गर्दै उनले समर्थकहरूको साथले पुनः उठ्ने साहस दिएको बताएकी छन्। “अझ मजबुत भएर मैदानमा फर्किने र पुनः राष्ट्रिय जर्सी लगाएर देशका लागि खेल्ने छु”, भण्डारीले प्रतिबद्धता व्यक्त गरेकी छन्। 

करिब दुई महिनादेखि घुँडामा चोटको कारण नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान भण्डारी मैदान बाहिर छन्। 
---