काठमाडौं। नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो। यो हालसम्मकै सर्वाधिक भाउ हो।
हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो। शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो। गत शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो। त्यसको अघिल्लो दिन बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो। शुक्रबार एकैदिन तोलामा ९ हजार २ सय बढेको थियो।
त्यसैगरी चाँदीको भाउ पनि आज बढेको छ। आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कायम थियो। शुक्रबार चाँदी तोलाको ६ हजार १ सय ९० रुपैयाँ थियो।