काठमाडौं। सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ।
मंगलबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले सानेपास्थित जेनजी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो। साथै उनीहरुले कांग्रेसका प्रतिनिधिहरुसँग छलफल समेत गरेका थिए।
छलफलमा सञ्चारमन्त्री खरेलले जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन रहेको बताउँदै निर्वाचनको वातावरण निर्माणको लागि आफूहरु वार्तामा गएको जानकारी गराए।
उनले भने,‘जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन छ । चुनावको वातावरण बनाउन र सुनिश्चीत गर्न महत्वपूर्ण राजनीतिक दलसँग सरकार पनि जानुपर्छ र चुनावको वातावरण पनि बन्छ भनेर हामी सानेपा आएका हौैं ।’
त्यस्तै छलफलमा कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचन निष्पक्ष, स्वच्छ र धाँदलीरहित हुनको लागि वातावरण अझैपनि आफूहरुले नदेखेको भन्दै त्यो वातावरण निर्माण गर्न आग्रह गरे ।
‘निर्वाचन निष्पक्ष,स्वच्छ र धाँदलीरहित हुनको लागि वातावरण अझैपनि हामीले देखिराखेका छैनौं ,त्यो बनाउनुहोस् । हाम्रो आग्रह छ,’ उनले भने ।
देशको राजनीतिक दलहरुलाई व्यवास्ता गरेर जेनजी र सरकारबीचको १० बुद्दे सहमतिको कारणले पनि आफूहरुमा अविश्वास पैदा भएको उनले बताए ।