काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन हुने बताएका छन् । सोमबार काठमाडौं क्षेत्र नम्बर ४ का मतदातालाई सम्बोधन गर्दै महामन्त्री थापाले महाधिवेशन अवरुद्ध बनाउने प्रयास गरिए देशभरका कार्यकर्ता आएर विशेष महाधिवेशन गर्ने बताएका हुन् ।
उनले महाधिवेशन नगरी चुनावमा जाने अवस्था नबन्ने बताए । उनले भने, ‘नियतवश अवरुद्ध गरे देशभरका कार्यकर्ता आएर विशेष महाधिवेशन हुन्छ। त्यसले एउटा परिणाम निकाल्छ ।’
महामन्त्री थापाले आफू १५ औं महाधिवेशनको पार्टी सभापतिको उम्मेदवार भएकाले सबैले सहयोग गर्ने अपेक्षा गरेको बताए । उनले भने, ‘म १५ औं महाधिवेशनको पार्टी सभापतिको उम्मेदवार हुँ । महाधिवेशन आन्तरिक कुरा मात्र होइन । अधिवेशन नेतृत्व नयाँ बनाउने कुरा मात्र होइन पार्टी नयाँ बनाउने काम पनि हो ।’
महामन्त्री थापाले यो महाधिवेशनमा दोस्रो चरणमा प्रवेश नगरी पहिलो चरणमै टुंग्याउने गरी सहयोग गर्नसमेत आग्रह गरे । महामन्त्री थापाले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्न कांग्रेस लाग्नुपर्ने बताए ।
उनले अहिलेसम्म भएका गल्तीप्रति सबैले क्षमा माग्नुपर्ने बताए । उनले भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताए ।