जेन-जी विद्रोह छानबिन आयोगले ओली र लेखकलाई अर्को साता बयानका लागि बोलाउने तयारी

जेन-जी विद्रोह छानबिन आयोगले ओली र लेखकलाई अर्को साता बयानका लागि बोलाउने तयारी

काठमाडौं । भदौ २३ र २४ गतेको जेन-जी विद्रोहसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अर्को साता बयानका लागि बोलाउने तयारी गरेको छ।

आयोगको टोलीले म्याद थपका लागि प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने क्रममा राजनीतिक दलका अन्य नेतालाई पनि बयानका लागि बोलाउने तयारी रहेको जानकारी दिएको छ।

छलफलपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने, “बयान सबै भइराखेको छ। तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत अर्को हप्ता बयानका लागि बोलाउने तयारी छ।”

सञ्चारकर्मीले ओली र लेखक बयानका लागि नआए के हुने हो भनी प्रश्न गर्दा अध्यक्ष कार्कीले भने, “पछिको कुरा पछि नै हुन्छ।”

आयोगका प्रवक्ता विज्ञानराज शर्माले पनि ओली र लेखक छिट्टै बयान दिन आउने बताए। उनले सञ्चारकर्मीलाई भने, “उहाँहरू बयान दिन छिट्टै आउँछन्, ढुक्क हुनुस्।”

आयोगको म्याद सकिनै लागेको र बयानका काम अझै पूरा नभएको कारणले आयोगले सरकारसमक्ष म्याद थप गरी १ महिना थप्न आग्रह गरेको छ।