काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनीलबहादुर थापाले राजीनामा दिएका छन्। आसन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न थापाले राजीनामा दिएको बताइएको छ। थापाको नामा धनकुटाबाट राष्ट्रियसभा निर्वाचनका लागि सिफारिस भएको छ।
‘म अब पार्टी राजनीतिमा सक्रिय हुन राष्ट्रपतिको राजनीतिक विज्ञपदबाट राजीनामा दिएको हुँ,’ थापाले भने, ‘पार्टीको ११ औं महाधिवेशन र राष्ट्रिय सभा निर्वाचनमा सक्रिय हुनु पर्ने भएपछि मैले मंसिर १५ गते नै राजीनामा दिएको हुँ।’ उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका थापा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। गत निर्वाचनमा धनकुटामा एमालेका राजेन्द्र राईसँग पराजित भएपछि थापालाई राष्ट्रपति पौडेलले आफ्नो राजनीतिक विज्ञमा रुपमा नियुक्त गरेका थिए।
माघमा हुने राष्ट्रियसभा निर्वाचनमा थापाको नाम धनकुटाबाट सिफारिस भएपछि उनले राष्ट्रियसभामा जान राजीनामा दिएका हुन्।