काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन–जीहरुको गुनासो अहिले पूरा गर्न सकिने अवस्था नरहेको बताएका छन्। मन्त्रिपरिषद्को बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले जेन–जीहरुको गुनासो महादेव आए पनि पूरा गर्न गाह्रो रहेको टिप्पणी गरे।
‘जेन–जीहरुको गुनासो अहिले नै पूरा गर्ने सबै भन्ने हुँदैन । यो समयअनुसार पूरा गर्दै जाने हो । म मन्त्री भएको दुई महिनामा सबै कुरा कसले पूरा गर्न सक्छ ? यस्तो किसिमको परिस्थितिमा महादेवजी आउनुभयो भने पनि महादेवजीलाई पनि गाह्रो हुन्छ भने हामी त मनुष्य भइहालियो,’– उनले भने ।
उनले निःशुल्क शिक्षाका लागि अझै निकै पर्खिनुपर्ने पनि बताए । निःशुल्क शिक्षाका लागि देशको बन्नुपर्ने र त्यसपछि हुने उनले बताए । साथै, प्रधानमन्त्री सुशीला कार्कीको ब्यस्तताले आज जेन–जीहरुसँग भेट्न नसकिएको पनि उनले जानकारी गराए । मिराज ढुङ्गानालगायतका जेन–जीहरु आज प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका थिए । प्रधानमन्त्रीको समय नपाएपछि उनीहरुले बाहिर नै माग पत्र टाँसेर फर्किएका थिए ।
‘बेस्तताले गर्दाखेरी भेट्न मान्नु भएन होला । जेन–जीहरुलाई उहाँले भेटिइरहनुभएको छ । सबै किसिमका जेन–जीहरुलाई भेटिरहनुभएको छ । आज चाहिँ भेट्नुभएन होला, बेस्त हुनुहुन्छ होला । त्यो कुरा मलाई थाहा छैन,’– उनले भने ।