बागमती प्रदेशबाट दुई लाखभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराए

बागमती प्रदेशबाट दुई लाखभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराए

मकवानपुर। बागमती प्रदेशबाट २ लाख ४ हजार ९ सय ५ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार राष्ट्रिय परिचयपत्र र प्रदेशभरका निर्वाचन कार्यालयमा गरिएको बायोमेट्रिक दुवै माध्यमबाट उल्लेखित संख्यामा नाम दर्ता गराएका हुन् ।

असोज १० गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली संकलन कार्यक्रममा नागरिकले आफ्नै जिल्लाका निर्वाचन कार्यालयमा तथा राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत दर्ताका लागि निवेदन दिएका थिए ।

सूचना अधिकारी ताराप्रसाद आचार्यका अनुसार ९९ हजार ३ सय ३४ जनाले बायोमेट्रिक दिई दर्ता प्रक्रिया पूरा गरेका छन् । जसमध्ये ५६ हजार ३ सय ६४ जना पुरुष र ४४ हजार ८० जना महिला रहेका छन् ।

काठमाडौँ जिल्लामा सबैभन्दा धेरै ६२ हजार ४ सय १ जनाले नामावलीमा नाम दर्ता गराएका छन् । ललितपुर जिल्लामा २६ हजार ८ सय ११, चितवन जिल्लामा २२ हजार २ सय ६३ जना, भक्तपुर जिल्लामा २० हजार १ सय ७७ जनाले नाम दर्ता गराएका छन् ।

यस्तै, मकवानपुर जिल्लामा १४ हजार ६ सय ३ जना, काभ्रेपलाञ्चोक जिल्लामा १४ हजार ३ सय २९ जना, सिन्धुली जिल्लामा ७ हजार ३९ जनाले नाम संकलन गराएका छन् । रामेछाप जिल्लामा ६ हजार १ सय २ जना, दोलखा जिल्लामा ६ हजार ६ सय ८७ जना, सिन्धुपाल्चोक जिल्लामा ६ हजार ९ सय ३९ जना दर्ता भएका छन् ।

धादिङ जिल्लामा ८ हजार ४ सय ३१ जना, नुवाकोट जिल्लामा ८ हजार १ सय ८९ जना र रसुवा जिल्लामा ९ सय ३४ जनाले नाम दर्ता गराएको सूचना अधिकारी आचार्यले बताए।

आचार्यका अनुसार नागरिकले आफूलाई पायक पर्ने निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराएपनि कुन जिल्लामा कति मतदाता थपिएका छन् भन्ने कुरा आयोगले वेबसाइटमा मतदाता नामावली प्रकाशित गरेपछि मात्र थाहा हुनेछ । असोज १० गतेसम्को तथ्यांकअनुसार बागमती प्रदेशमा कुल ३४ लाख ७१ हजार ७ सय ९२ मतदाता रहेका छन् ।

निर्वाचन आयोगले मंसिर २० गतेदेखि पुस १५ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  मंसिर २० गते आयोगले मतदाता नामावली प्रारम्भिक रूपमा प्रकाशित गर्नेछ ।

मंसिर २१ देखि २७ गतेसम्म मतदाता नामावलीमा परेका त्रुटि सच्याउनका लागिे निवेदन दिन सकिनेछ ।  यसै अवधिमा कसैले झुठा विवरण दिई नाम दर्ता गराएको छ भने त्यसविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । यस अवधिमा कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको जानकारी प्राप्त भएमा, सो व्यक्तिको नाम नामावलीबाट हटाउन सूचना दिन सकिनेछ ।

मंसिर २८ देखि पुस १ गतेसम्म उजुरी परेकालाई सफाइको मौक दिने, पुस २ देखि ५ गतेसम्म जिल्ला प्रमुख नामदर्ता अधिकृतले आवेदकको विवरण तथा उजुरीको छानबिन गरेर आवश्यक परे त्रुटि सच्याउने, नाम हटाउने तथा कानुन बमोजिमका निर्णय गर्नेछन् ।

पुस ६ देखि ९ गतेसम्म नाम हटाइएको तथा सच्याइएको विवरण जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित वडा कार्यालयमा सार्वजनिक गरिनेछ । फरक–फरक जिल्लामा दोहोरो नाम दर्ता भएकाबारे छुट्टै विवरण तयार गरी जिल्लाबाट अद्यावधिक भएको डाटा सहित आयोगमा पठाइनेछ भने पुस १५ गते आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गर्नेछ ।