इमानदार व्यवसायीलाई अनावश्यक झमेला हुने ‘फुल अडिट’ अब हुँदैनः अर्थमन्त्री खनाल

इमानदार व्यवसायीलाई अनावश्यक झमेला हुने ‘फुल अडिट’ अब हुँदैनः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षा मतबुत बनाउनका लागि सरकार पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । आज (सोमबार) राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने दायित्व सरकारको पहिलो प्राथमिकता रहेको बताएका हुन् ।

अर्थमन्त्री खनालले जेनजी आन्दोलनले निजी क्षेत्रलाई त्रसित बनाएकोप्रति चिन्ता व्यक्त गरे । उनले जेनजी आन्दोलनमा देखिएको असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रतिमात्रै नभएर समग्र समाज र निजी क्षेत्रप्रति पनि रहेको बताए । वर्तमान सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र नागरिकलाई सम्मानपूर्वक बाँच्ने वातावरण सिर्जना गर्ने उनको भनाइ छ ।

अर्थमन्त्री खनालले जेन–जी आन्दोलनको क्रममा करिब ७८ अर्ब बराबरको भौतिक संरचना क्षति भएको बताए । देशभरको ५५ जिल्लामा करिब २ हजार ९ सय भवनहरु क्षतिग्रस्त भएको सरकारी तथ्याङ्क रहेको पनि उनले जानकारी गराए ।

जेनजी आन्दोलनका क्रममा भएका क्षतिको पुनर्निर्माणका लागि सरकारले चालु आर्थिक वर्षको बजेटबाट एक खर्ब २० अर्ब बराबरको स्रोत जुटाएको उनले बताए । अर्थमन्त्री खनालले उक्त रकम पुनर्निर्माणका लागि पर्याप्त हुने विश्वास व्यक्त गरे । उनले तत्काल पुनर्स्थापना कार्य अघि बढाइने पनि बताए ।

अर्थमन्त्री खनालले इमानदार व्यवसायीलाई अनावश्यक झमेला हुने पूर्ण लेखापरीक्षण (फुल अडिट) अब नहुने बताउँदै कर प्रणाली सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । ‘अर्थतन्त्र ठूलो बन्ने हो भने कराधार स्वाभाविक रूपमा बढ्छ । त्यसका लागि व्यावसायिक गतिविधि विस्तार गर्न आवश्यक छ,’– उनले भने ।

उनले पुँजी बजारमा रहेका केही संरचनागत समस्याहरू समाधान गर्न सके बजार थप चलायमान बन्ने विश्वास व्यक्त गरे । निजी क्षेत्र र सरकारका बीच प्रभावकारी समन्वय आवश्यक रहेकामा उनले जोड दिए । अहिले संसद् सञ्चालनमा नरहेकाले केही आवश्यक कानुन ल्याउन नसकिएको बताउँदै अध्यादेशमार्फत दीर्घकालीन प्रकृतिका कानुन ल्याउन पनि कठिनाइ भइरहेको खनालले उल्लेख गरे ।