भारतलाई हराउदै अष्ट्रेलियाले जित्यो विश्वकप उपाधि

भारतलाई हराउदै अष्ट्रेलियाले जित्यो विश्वकप उपाधि

काठमाडौ : आईसीसी महिला टि ट्वान्टी विश्वकपको आयोजक अष्ट्रेलियाले उपाधि जितेको छ । आइतबार फाइनलमा भारतीय महिला क्रिकेट टोलीलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया महिला क्रिकेट टोलीले पाँचौ पटक महिला टि२० विश्वकप उपाधि जितेको हो ।

जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएका भारतीय महिला टोली १९।१ ओभरमा अल आउट हुँदै ९९ रनमा समेटियो । अष्ट्रलियाले यस अघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप टि ट्वान्टी को उपाधि जितेका थिए ।भारतीय दीप्ती शर्माले ३५ बलमा २ चौका सहित सर्वाधिक ३३ रन जोडिन् ।

पहिलो ओभरको दोस्रो बलमै प्रमुख ब्याट्सवुमेन्स सफाली बर्मालाई मेगन शट्टले विकेटकिपर एलिसा हेलीबाट २ रनमा क्याच आउट गराएपछि भारत सुरुमै दबाबमा परेको थियो । दोेस्रो ओभरको अन्तिम बलमा जेमिमाह रोड्रिग्स शुन्यमा आउट भइन् । सोफी मोलिनेक्सले चौथो ओभरको पहिलो बलमा स्मृती मंधानालाई निकोला करीबाट ११ रनमा क्याच आउट गराएपछि भारतको जित कठिन बनेको थियो ।