काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएका समस्या समाधान गर्नका लागि पार्टीका शीर्ष नेताहरु शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायतसँग छलफल गर्ने भएका छन् । कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि छलफल गर्ने जिम्मा कावा सभापति खड्कालाई दिएको हो ।
पदाधिकारीसहित सबैसँगको समन्वयमा पार्टीभित्रको समस्याको निकास निकाल्ने जिम्म कावा सभापति खड्काले पाएका हुन् । खड्कासहित उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समस्याको समाधान खोज्ने बताइएको छ ।
कांग्रेसको १५औं महाधिवेशनको मितिबारे सहमति जुट्न सकिराखेको छैन । संस्थापन समूह आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपश्चात महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने संस्थापन इत्तर समूहले तत्काल महाधिवेशनको माग गरिराखेका छन् । इत्तर समूहरुले विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसमेत बुझाइसकेका छन् । कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्न सकिने छ ।
कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा चुनावअघि नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । महाधिवेशनको मितिबारे सहमति नभएको खण्डमा भोलि दिउँसो बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक पुनः सर्ने बताइएको छ ।