जेन-जी र एमालेको भविष्य: ओलीले नबुझेको आन्दोलन

शेषराज भट्टराई

जेन-जी र एमालेको भविष्य: ओलीले नबुझेको आन्दोलन

भदौ २३-२४ मा भएको जेन जी आन्दोलनको केही दिनपछि युवा नेता मिलन पाण्डेले फेसबुकमा लेखेका थिए, “नेपालको राजनीतिक इतिहास अब दुई खण्डमा बाँडिएको छ-जेन जेड आन्दोलनअघि र जेन जेड आन्दोलनपछि।”

तर विडम्बना भदौ २४ पछिपनि अधिकांश राजनीतिक दलहरूले यो परिवर्तनलाई आत्मसात गर्न सकेका छैनन्। पुराना ढाँचाहरू कायम छन्, राजनीतिक बहस कमजोर छ। दलका नेताहरू आाफू सुध्रिने  सट्टा आरोप-प्रत्यारोप, भ्रम र 'कन्स्पिरेसी थ्योरी' मा समय खर्च गरिरहेका छन्। र, यो लिस्टमा केपि ओली अरूभन्दा अगाडि देखिन्छन्। 

भदौ २३-२४ को आन्दोलनको समय केपी ओली प्रधानमन्त्री थिए। आन्दोलनमा हजारौं युवा सडकमा आएका थिए, आफ्नो भविष्य र देशको शुसासनका लागि आवाज उठाए। आन्दोलनका क्रममा  युवाको ज्यान गयो, र पीडित परिवार र समुदायमा गहिरो दुख र आक्रोश सिर्जना भयो। 

तर केपी ओलीले भदौ २३-२४ लाई युवाको बिद्रोह  र असन्तुष्टि थियो भनेर बुझेनन् या बुझ्न चाहेनन्। ओलीले जेन जीलाई नयाँ राजनीतिक स्टेकहोल्डरको रूपमा मान्यता दिन सकिरहेका छैनन्। बरू उनले लगातार सुरक्षा निकायका कमजोरी र यो घटनामा 'कन्स्पिरेसी थ्योरी' लाई जोडिरहेका  छन्।

एमआएटी विश्वविद्यालयका डारोन आसेमोग्लु र शिकागो विश्वविद्यालयका जेम्स रोबिन्सनले “ह्वाई नेसन्स फेल” मा भनेझै , जब नेताहरू शासन गर्न असफल हुन्छन्, उनीहरूले आफ्नो असफलताको दोष बाह्य परिस्थितिलाई दिन्छन्-जस्तै भूगोल, संस्कृति वा अन्तर्राष्ट्रिय दबाब। ओलीको ‘कन्स्पिरेसी थ्योरी’ मा दोषको अधिकाशं हिस्सामा अरूनै जिम्मेबार छन्। 

राजनीतिमा नेताहरू आलोचना र सार्वजनिक असन्तोषलाई सुधारको अवसर वा जनताको प्रतिक्रिया भन्ने दृष्टिकोण अपनाउँदैनन्। यसको सट्टा, नेताहरू त्यसलाई षड्यन्त्र, विरोध वा व्यक्तिगत चुनौतीको रूपमा बुझ्छन्।

राजनीतिक मनोविज्ञानको दृष्टिकोणबाट हेर्दा, यो अवस्थालाई रिचर्ड होफस्टाडरको पुस्तक ‘राजनीतिक परानोइया: द साइकोपोलिटिक्स अफ हेट्रेड’ लाई बुझ्नुपर्ने हुन्छ। राजनीतिक परानोइया भएका नेताहरूले कार्यकर्ताहरूको मनोविज्ञान नियन्त्रित गरेर, सामाजिक सञ्जाल र अरू माध्यमबाट पोलिटिकल न्यारेटिभलाई कन्ट्रोल  गरेर  आफ्ना समर्थकलाई आफ्नो कथाको ट्रापमा  राख्छन्।

२०८२ भदौ २३ अघि सम्म प्रधानमन्त्री रहेका ओली चौथोपल्ट प्रधानमन्त्री बनेयता सबैभन्दा बढी अलोकप्रिय बने। तीन पटक प्रधानमन्त्री रहँदा केपी शर्मा ओलीलको टिमले पब्लिक रिलेशन म्यानेजमेन्ट र इमेज बिल्डिङ मा काम गरेका थिए। २०८१ असार ३० मा चौथो पटक प्रधानमन्त्री बन्दा नेपालको राजनीतिको डिस्कोर्सको सेन्टर स्टेजमा  रबि लामिछाने, बालेन साह, हर्क साम्पाङहरूको उपस्थिति भइसकेको थियो।

ओलीको राजनीतिक यात्रा, विशेष गरी उनको पहिलो र दोस्रो कार्यकाल, ‘इमेज पोलिटिक्स’को प्रयोगमा आधारित थियो। लामो समय केपी शर्मा ओलीले आफ्नो राजनीतिक यात्रामा  परम्परागत पार्टीसँगै लडे। ओलीका समकालीन नेताहरूको राजनीतिक ‘डेलिभरी इन्डेक्स’ का हिसाबले हेर्दा अरू नेताका परफर्मेन्स अप्रेजल राम्रो थिएन। 

नेपाली कांग्रेसमा शेरबहादुर देउवाको ‘सफ्ट लिडरशिप’ र माओवादीमा पुष्पकमल दाहालको ‘डिक्लाइनिङ पावर ग्राफ’ ले ओलीको राजनीतिक “प्याकेजिङ” लाई थप आकर्षक बनायो। त्यसबेला उनी नेपालमा राष्ट्रिय स्वाभिमान भाष्यको आधारमा नम्वर एक नेता बने।

दोस्रो कार्यकालमा ओलीको मस्कुलिन लिडरसिप पर्सनालीटिले नेपालमा मात्र होइन अन्तर्रास्ट्रिय मन्चमा समेत चर्चामा आए, २०१९ मा स्विजरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चमा नेपालको राजनीतिक र आर्थिक विकास, जलवायु परिवर्तनका चुनौतीहरूबारे  १२ मिनेटको उद्घाटन भाषण दिएका ओलीलाई नेपाली समाजले लगभग अल्फा लिडरको रूपमा हेर्दै थियो। ओलीको तेस्रो कार्यकाल कोरोना महामारीपछिको बेला थियो। त्यसबेला उनको लोकप्रियता  घट्यो।

चौथो कार्यकालमा उनको नेतृत्व अझ चुनौतीपूर्ण रह्यो ।काँग्रेससँगको अस्वाभाविक गठबन्धन, आन्तरिक पार्टी विवाद, युवा र आम जनताको गहिरो असन्तुष्टिले उनको निर्णय क्षमता र राजनीतिक प्रभावमा ठुलो दबाब पार्यो। राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेसगंको विरोधाभासपूर्ण सम्बन्धले  ओलीको पुरानो इमेज भत्किदैथियो।

कुलमान घिसिङलाई हटाएर  ‘इगो पोलिटिक्स’ गरेका ओलीको लोकप्रियताको ग्राफ ओरालो लाग्यो। सामान्य धारणा अनुसार, कुनैपनि राजनीतिक दलहरूले आफ्नो ईमेज निर्माण र नियन्त्रण गर्न सक्छन्। विशेष गरी सक्तीशाली नेताका रूपमा मानिने व्यक्तिहरू भाषण, घोषणा, प्रचार–प्रसार र सार्वजनिक उपस्थितिमार्फत आफ्नो इमेज  बलियो बनाउँछन्। ओली यस “दौड” मा अन्य नेताहरूभन्दा केही कदम अगाडि नै  थिए।

कुनैपनि देशमा अचानक उत्पन्न हुने संकट, सडक आन्दोलन, मिडियाको तीव्र कवरेज, र समाजमा फैलिने असन्तुष्टिले कुनै पनि राजनीतिक ब्रान्ड निर्माणलाई च्यालेन्ज गर्न सक्छ।

हो, यही  बिन्दुबाट  ओली  र उनको पुरानो ब्रान्ड मिसनरी  “म्यासेज रिपिटेसन” र “इमेज फटिग” को शिकार बनिसकेका थिए। तर ओलीले यसलाई स्वीकार गरेनन्। ओलीको नेतृत्व “शाइनिङ अब्जेक्ट सिन्ड्रोम” मा फँस्यो, जहाँ उनको ध्यान व्यक्तिगत ब्रान्ड र सोशल मिडियाको एल्गोरिदमले  ल्याएको ‘इको चेम्बर’मा केन्द्रित भयो।

यो इको चेम्बरले कार्यकर्ताहरूको प्रशंसा, राष्ट्रवादी नारा र डिजिटल समर्थनलाई मात्र देखायो, जसले समाजको आलोचनालाई दबाउने काम गर्‍यो। डिजिटल प्रशंसा र इको चेम्बर भित्रको सकारात्मक प्रतिक्रिया मात्रले रियालीटी ढाक्न सकेन। नयाँ राजनीतिक स्टेकहोल्डरको प्रिज्मबाट ओली टिमले यो अबस्थालाई बुझ्न सकेनन्। परिणामस्वरूप, ओली सरकार युवा मागप्रति “असंवेदनशील र डिस्कनेक्टेड” देखियो। परिणाम, भदौ २३–२४ मा जेन जीको आन्दोलन। 

यस्तो अवस्थामा नेताले कसरी ब्यबहार गर्छन्, आफ्नो आलोचनालाई कसरी स्विकार्छन्, कसरी जनताको पीडा बुझ्छन्, र आफ्नै टिमलाई संकटमा साथ दिन्छन्-यसको आधारमा कुनैपनि नेताको  इमेज र प्रतिष्ठा निर्माण हुन्छ। ओलीको राजनीतिक छवि व्यवस्थापनमा यही कमी देखियो।

जोन हचिन्सनको ‘कल्ट अफ द लिडर: अथोरिटेरियन पपुलिज्म इन द ट्वान्टी-फर्स्ट सेन्चुरी’ पुस्तकले कुनैपनि नेताको व्यक्तिगत करिश्मा र पर्सनालिटी कल्टले  कसरी लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउँछन् भन्ने बताउँछ।

यस्तो नेतामा आलोचना र असहमतिलाई दबाउने प्रवृत्ति हुन्छ, र कार्यकर्ताहरूले नजानेर नै  यी प्रवृत्तिहरूलाई वैध बनाइरहेका हुन्छन्। नेपाली राजनीतिक सन्दर्भमा, केपी शर्मा ओली र अन्य  नेताहरूको व्यवहारसँग यो ठ्याक्कै मिल्नजान्छ। शक्ति र लोकप्रियतामा लोभमा नेताहरू प्रायः जनताले के चाहेकाछन भनेर  ध्यान दिदैनन।

जेन-जी आन्दोलनमा ७० भन्दा बढीको ज्यान गयो। संसद्, अदालत , नेताहरूको घर, सुपरमार्केट र सरकारी कार्यालयहरूमा आगजनी भयो। यो हिंसाले २४ गते ओलीको राजीनामा अपरिहार्य थियो ।तर भदौ २४ पछि,  ओलीको पोलिटिकल रिटर्न स्वाभाविक देखिएन।

आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा उथलपुथल ल्यायो, जसले युवाको असन्तोष, अवसर र अधिकारप्रतिको माग स्पष्ट पार्‍यो। तर प्रधानमन्त्री केपी शर्मा ओलीले यस वास्तविकतालाई स्वीकार गरेर फर्किएनन्। उनी उही पुरानो सिग्नेचर स्टाईलमा फर्किए।

उनले आन्दोलनलाई पर्याप्त आधारविनाको भन्दै “काउन्टर-क्रान्ति” को चेतावनी दिइईरहेका छन्। ओलीले नयाँ राजनीतिक स्टेकहोल्डरको प्रेजेन्सलाई खाली षड्यन्त्रको रूपमा प्रस्तुत गरिरहँदा एमालेको कोल्याटरल डा्यामेज भइरहेको स्यंम एमालेका अधिकांश नेताहरूले बुझेका छन्।

तर ओलीको यो हब्रिस सिन्ड्रोमका बिरूद्ध जाने आट कोहीले गरेका छैनन्। हब्रिस सिन्ड्रोमले राजनीतिक नेताले शक्ति र लोकप्रियताको नशामा डुबेपछि रियालिटीसँग कसरी सम्पर्क गुमाउन सक्छन् भनेर देखाउँछ।

डेभिड ओवेनले लेखेको पुस्तक ‘द हब्रिस सिन्ड्रोम: बुश, ब्लेयर एन्ड द इन्टक्सिकेसन अफ पावर’मा व्याख्या गरेझैं, पावर  र फेमबाट जन्मेको अत्यधिक आत्मविश्वासले प्रायः नेताहरूलाई ग्रिक मिथको  हब्रिस जस्तो बनाउँछ।

जब नेता सत्ता र प्रशंसाको मीठो भ्रममा धेरै लामो समय भुलेपछि, उनीहरूले बिस्तारै सही निर्णय  र सामाजिक उत्तरदायित्वको क्षमता गुमाउँछन्। आफुले गरेका निर्णयहरूलाई अपरिवर्तनीय ठान्ने, असहमति वा आलोचनालाई षड्यन्त्र वा व्यक्तिगत हमला मान्ने, र सुधारको अवसरलाई नजरअन्दाज गर्ने प्रवृत्ति हब्रिस सिन्ड्रोममा देखिन्छ। 


भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली, महेश बस्नेतको सपोर्टमा भक्तपुरको गुन्डुमा देखापरे र केही दिनपछि फेरि त्यही पुरानो सिग्नेचर स्टाईलमा सार्वजनिक दृश्यमा आए। यहाँ एउटा गहिरो र महत्वपूर्ण अब्जर्रभेसन जरूरी छ: राजनीतिक नेत्रित्वको असफलतालाई एक व्यक्तिमा सीमित गरेर हेर्नु हुँदैन। यो एक गहिरो सामाजिक र मनोवैज्ञानिक पारिस्थितिक प्रणालीबाट उत्पन्न हुन्छ, यसमा समाज, कार्यकर्ता र पार्टी संरचनाको भूमिका अत्यन्तै निर्णायक हुन्छ।

नेताको कमब्याक, लोकप्रियता वा असफलतासँग कार्यकर्ताको  गतिशीलता र संस्थागत प्रतिक्रिया गहिरो रूपमा जोडिएको हुन्छ। जब समाजल, मिडीयाले नेताको निर्णय र शक्तिमा प्रश्न उठाउन छोड्छ, तिनीहरूको प्रभुत्व नैतिकरूपमा स्वीकार्य देखिन थाल्छ। कार्यकर्ताले जवाफदेहिताको सट्टा सुरक्षा, पहिचान वा स्वामित्व खोज्न थाल्छन्।

यस भावनात्मक निर्भरताले नेताको शक्ति अनियन्त्रित रूपमा केन्द्रित गर्न र नेतालाई भित्रबाट क्षय गर्न अनुमति दिन्छ। लिपम्यान-ब्लुमेन आफ्नो पुस्तक ‘द एल्योर अफ टक्सिक लिडर्स’मा भन्छन्, ‘कार्यकर्ताले टक्सिक नेताहरू जन्माउमे ठाउँ बनाउँछन्।’

टक्सिक नेतृत्व शक्तिशाली नेताहरूको कारणले मात्र अस्तित्वमा हुँदैन; यो मौन कार्यकर्ताहरूको कारणले बाँच्दछ। र जब मौनता संस्कृतिको हिस्सा बन्छ, परिवर्तनको आशा इतिहासमा हराउँछ।

नेपालमा जेन जी आन्दोलनले समाजका बदलिँदो आकांक्षा र अपेक्षालाई पनि अगाडी ल्याइदेको छ। जेन-जी आन्दोलनको टेकअवे के हो भने नेपाली राजनीतिक प्रणाली अब पुराना ढाँचामा सीमित रहन सक्दैन। युवापुस्तासँगै समाजका अन्य स्टेकहोल्डरहरूले आफ्नो भूमिका दाबी गर्दै छन्। अब पुरानो राजनीतिक ‘रेटोरिक’ले काम गर्दैन  र राजनीतिमा नयाँ खेलाडीहरू सक्रिय हुँदैछन्।

मिराज ढुंगाना, हर्क साम्पाङ र  व्यवसायी वीरेन्द्र बहादुर बस्नेतहरूले आफ्नै पार्टी खोलेर नयाँ राजनीतिक उद्यमी बन्दैछन्। अर्को तिर, दुर्गा प्रसाई र उनका समर्थकहरूले हिन्दू राष्ट्रको माग अघि सारेका छन्। 

अब आउने दिनहरूमा, राजनीतिक अवस्था नेपालका लागि  अझ चुनौतीपुर्ण छ। लामो समय राजनीतिक अनुभव र निवेश भएका पार्टी तथा केपी शर्मा ओली जस्ता अनुभवी नेतालाई अबको राजनीतिक यथार्थ र  प्रभावको गम्भीरता नबुझ्ने छुट छैन। राजनीतिक पार्टीहरू र नेताले बदलिँदो सामाजिक अपेक्षालाई बेवास्ता गर्दा परिणाम फेरि असन्तुष्टिमा जानसक्छ। पुराना राजनीतिक संरचनाहरूको इनर्सियाका कारण नेपाल गहिरो संकटमा फस्न सक्छ। 

 यसलाई  दक्षिण भारतीय राजनीतिक केस स्टडीबाट बुझौ।  यो केस स्टडीले परमपरागत पार्टीले  समाज लाई नबुझ्दा कसरी राजनीतिक क्षयलाई ट्रिगर गर्न सक्छ भनेर देखाउछ। एन्ड्रयू वायटको पुस्तक ‘पार्टी सिस्टम चेन्ज इन साउथ इन्डिया: पोलिटिकल इन्टरप्रेन्योर्स, प्याटर्न्स एण्ड प्रोसेसेज’ अनुसार, भारतको स्वतन्त्रता पछि, जवाहरलाल नेहरूको नेतृत्वमा रहेको काँग्रेस आई पार्टीले दक्षिण भारतमा जनताको बढ्दो राजनीतिक चेतना र सक्रिय सहभागिताको मागलाई सम्बोधन गर्न असफल भयो।

यसको विपरीत दक्षिण भारतमा, सी.एन. अन्नादुराई, एम.जी. रामचन्द्रन, जस्ता स्थानिय नेताहरूले बदलिँदो जनभावनालाई पहिचान गरे। तर नेहरू नेतृत्वको काँग्रेस पुराना शैली र संरचनामा अडिएको थियो।

एम.जी. रामचन्द्रन तमिलनाडुको कल्चरल आइकन थिए, तमिल सिनेमाकाअत्याधिक रूचाइएका अभिनेता। अर्कोतिर सी.एन. अन्नादुराई तमिलनाडुका लोकप्रिय नेता थिए। उनी ‘द्रविड़ मुन्नेत्र कड़गम (डिएमके)’ दलका संस्थापक पनि थिए। अन्नादुराई भारतको स्वतन्त्रता आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध नराख्ने नेता थिए, उनले आफ्नो राज्यको पहिचान, सांस्कृतिक गौरव र स्वायत्तताको अधिकारको पक्षमा बलियो आवाज उठाए।

जब पुराना पार्टीले समाजको अपेक्षा बुझ्न असफल हुन्छ, त्यहा नयाँ राजनीतिक उद्यमीहरू शून्यता भर्न आउछन। आज, भाजपा र कांग्रेस-आई दुवै पार्टी दक्षिण भारतको क्षेत्रीय र स्थानीय राजनीतिमा संघर्ष गरिरहेका छन्। 

यसलाई बुझ्न बिहारको आउँदो चुनावलाई हेरौं। प्रशान्त किशोर बिहारमा “political entrepreneur” बनिरहेका छन्। प्रशान्त किशोर बिहारमा १९९० पछि लामो समयसम्म स्थापित राजनीतिक दिग्गजहरू, लालुप्रसाद यादब र नितिश कुमारलाई टक्कर दिँदैछन्। 
यदि प्रशान्त किशोरको एक्सपेरिमेन्ट सफल भयो भने, यसको असर  बिहारमा सीमित रहँदैन; नेपालमा नयाँ राजनीतिक लगानीकर्ताहरू, युवा नेताहरूले पुराना दलहरूको “status quo” लाई चुनौती दिन सक्नेछन्।

तपाईं एमाले नभएपनि तपाईंले स्विकार्नै पर्ने तथ्य के हो भने नेपालमा एमाले अझै स्थापित राजनीतिक पार्टी हो-एक युनिकर्न पार्टी। यसको इतिहास, कार्यकर्ता नेटवर्क र सामाजिक उपस्थितिले नयाँ स्टार्टअप  दलहरूलाई चुनौती दिन सक्छ। भदौ २३-२४ को जेन जी आन्दोलन एमाले बिरूद्द कम र सरकार बिरूद्ध ज्यादा थियो। प्रधानमन्त्री पदबाट राजीनामा दिएपनि  ओलीसँग पार्टीलाई आन्तरिक रूपमा सुदृढ गर्ने अवसर थियो।तर उनले त्यो मौका गुमाए।

प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि ओली करिब दस दिनसम्म सार्वजनिक रूपमा देखिएनन र भदौ २३-२४ को जेन जी आन्दोलनमा आलोचनाको केन्द्रबिन्दु बनेका उनी भक्तपुरको गुन्डुको अस्थायी निवासमा  देखा परे। लगभग २० वर्षअघि, माओवादी पार्टीको वाईसिएललाई प्रतिकार गर्न बनेको युथ फोर्स नै ओलीको संरक्षणमा देखियो। र युथ फोर्सका त्यतिखेरका नेतृत्वकर्ता महेश बस्नेतको समूहले नै ओलीलाई सुरक्षा उपलब्ध गराए।

ओलीको कमब्याकले भव्यता त ल्यायो, तर ओलीको कमब्याक वास्तवमा पार्टी सुदृढीकरणमा केन्द्रित भएन।उनि आफ्नै राजनीतिक प्रतिष्ठा बचाउने र बिग्रेको  छवि सुधार्नेमा लागे।

क्रिश्चियन स्नीवाइन्डको ‘पोलिटिकल रिप्युटेसन म्यानेजमेन्ट: द स्ट्र्याटेजी मिथ’ ले भन्छ, नेतालाई इमेज निर्माण मात्र पर्याप्त हुदैन। प्रभावशाली नेताले  समाजको बदलिँदो संवेदनशीलता बुझ्नु, जनता र कार्यकर्ता बीचको दूरी घटाउनु र दीर्घकालीन संस्थागत स्थायित्व लाई ध्यान दिन्छ।

जेन जी आन्दोलन अघि ओलीलाई संकटबाट बचाउने शक्ति उनको इमेज व्यवस्थापन र ब्रान्ड टिमको रणनीतिमा निर्भर थियो, जसले आलोचना नियन्त्रण, कथा निर्माण र सार्वजनिक धारणा व्यवस्थापन गर्दै आएको थियो। तर यस पटक ती संरचनाहरू त्यति एक्टिभ देखिएनन, कुनै नयाँ कथा निर्माण भएनन। ओलीले बुझ्नुपर्छ, राजनीतिमा लामो समयको अनुभवले नेतालाई केही अवसरहरू र प्रतिष्ठा त दिन्छ, तर नयाँ चुनौतीहरू सामना गर्न ति पर्याप्त हुँदैनन । 

जेन-जी आन्दोलनले नेपाली समाजको राजनीतिक संवेदनशीलता झन् बढाएकाछन । एमालेको रिभाईबल  राजनीतिक विश्वास र लोकतान्त्रिक प्रणालीका लागि झन जरूरी बन्दैछ। यो कुरा ओलीले यो बुझेनन या बुझ्न चाहेनन ।