२३ दिनदेखि नेप्सेका कर्मचारीहरू आन्दोलनमा

२३ दिनदेखि नेप्सेका कर्मचारीहरू आन्दोलनमा

२३ दिनदेखि नेप्सेका कर्मचारीहरू आन्दोलनमा छन्। कामकारबाही नरोकी कर्मचारीहरूले विरोधका कार्यक्रम सँगसँगै लगिरहेका छन्।

श्रम अदातलको आदेश विपरीत नेप्सेको सञ्चालक समितिले निर्णय गरेको भन्दै असोज सात गतेदेखि नेप्सेका कर्मचारी आन्दोलनमा उत्रिएका थिए।

अर्थ मन्त्रालयको स्वीकृति लिएर नेप्सेले कर्मचारीहरूलाई वार्षिक १ प्रतिशत बोनस वितरण गर्दै आएको छ। तर, नेप्सेले राम्रो नाफा गरिरहेकाले ५ प्रतिशतसम्म बोनस पाउनुपर्ने माग राख्दै आएका थिए।

केही वर्षदेखिको यो विवाद लिएर कर्मचारीहरू श्रम अदालत गएका थिए। २०८२ असार ५ गते नेप्सेका कर्मचारीहरूको पक्षमा अदालतले फैसला सुनाए पनि सञ्चालक समितिले त्यस अनुसार निर्णय नगरेपछि लगानीकर्ता आन्दोलनमा गएका हुन्।

आन्दोलनको क्रममा कर्मचारीहरूले नेप्सेको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा राजनीतिक स्वार्थप्रेरित नियुक्ति भएको भन्दै त्यसको पनि विरोध गरिरहेका छन्।

नेप्सेमा अध्यक्षको रूपमा हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईं छन्। अध्यक्ष बस्यालको कन्सल्टेन्सी र नेप्सेबीच पुरानो भुक्तानी सम्बन्धी विवाद रहँदै आएको अवस्थामा उनको नियुक्ति भएको भन्दै कर्मचारीहरूले विरोध गरेका हुन्।

अध्यक्ष बस्यालको कन्सल्टेन्सीले देखावटी परामर्श सेवा प्रदान गरेको भन्दै २५ लाख रूपैयाँ भुक्तानी माग्दा नेप्सेले अस्वीकार गरेको र सोही विवाद अझै कायम रहेको कर्मचारीहरूको दाबी छ।

नेतृत्वहरूले नेप्सेलाई कमजोर बनाउन लागेको आरोप लगाउँदै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। असोज सात गते कर्मचारीहरूले नेप्सेका अध्यक्ष सिइओ लगायत उच्च तहका पदाधिकारीलाई कार्यालयमा थुनेर राखेपछि मध्य रातमा प्रहरीले उद्धार गरेको थियो।

त्यसयता प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईं नियमित कार्यालयमा उपस्थित भएका छैनन्। कर्मचारीहरूले चापागाईंलाई हराइरहेको कार्यालयमा पर्चा बाडेका छन्। उनलाई खोजिदिन समेत कर्मचारीहरूले आग्रह गरेका छन्।