काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको संज्ञा दिएका छन् । आज (बुधबार) एमाले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो अवस्थामा चुनाव नहुने बताए । सरकारले चुनाव गराउने बाटो नै नसमातेको उनको दाबी छ ।
अहिले सरकार असंवैधानिक रहेको र प्रधानमन्त्री सुशीला कार्कीले आफू प्रधानन्यायाधीश हुँदा गरेको फैसलाको विरुद्धमा गएर संसद् विघटन गरेको उनले बताए । अध्यक्ष ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरु सरकारी लाभको पदमा नियुक्त हुन नपाउने व्यवस्था संविधानमा नै प्रष्ट रहेको र कार्कीले उक्त व्यवस्थालाई अनदेखा गरी प्रधानमन्त्री बनेको बताए ।
‘अब यतिबेला आजको प्रतिगमनको स्थितिलाई हामीले बुझ्नुपर्छ । च्ुनाव हुनेवाला छैन । चुनाव गराउने बाटो सरकारले समातेको छैन । अवैध ढंगको असंवैधानिक सरकार हो यो । पूर्व प्रधानन्यायाधीशले के गर्न हुन्छ, के गर्न हुँदैन ? संविधानमा लेखेको छैन ? पूर्व प्रधानन्यायाधीशले आफैं फैसला गर्ने, आफैं फेरि असंवैधानिक ढंगले प्रधानमन्त्री हुने ? असंवैधानिक ढंगले संसद् विघटन गर्न पाइँदैन भनेर फैसला गर्ने उहाँहरु अहिले फेरि आफैंले असंवैधानिक ढंगले विघटन गर्ने ? यो एउटा योजनाअन्तर्गत गरिएको प्रतिगमन हो । जेन–जीको माग र आन्दोलन योसँग जोडिँदैन,’– उनले भने ।
जेन–जीहरुले अहिले पनि प्रधानमन्त्रीको राजीनामा, संविधान मिच्ने, संसद् भंग गर्ने आफूहरुको माग नरहेको बताइरहेको उनले बताए । अध्यक्ष ओलीले २३ गतेबाटै अरु तत्वहरुले चलखेल गरेको बताए । अध्यक्ष ओलीले आफू दुई तिहाइ बहुमतको प्रधानमन्त्री भएको बेलामा भएको र्संसद् विघटनलाई समेत अदालतले नमानेको बताउँदै अहिलेको असंवैधानिक सरकारले गरेको संसद् विघटन लुरुक्क मान्न नसकिने बताए ।
‘दुई तिहाइको कमाण्ड गरिरहेको प्रधानमन्त्रीले दुई तिहाइबाट सरकार चलेन भनेपछि अर्को के विकल्प हुन्छ ? एक तिहाइ त कहिल्यै विकल्प हुन सक्दैन नि त । दुई तिहाइको स्थितको प्रधानमन्त्रीले संसद्ले काम गर्न सकेन । त्यसकारण ताजा जनादेशमा जानुपर्ने अवस्था आयो । ताजा जनादेशमा जाने भनेर विघटन गरेपछि र अर्को चुनावको मिति घोषणा गरेपछि संविधान मिचिएको पनि थिएन । प्रतिगमन भएको पनि थिएन । अहिले असंवैधानिक सरकारले भनेको, उसको सिफारिसमा गरिएको प्रतिनिधिसभाको विघटनलाई लुरुक्क मान्ने । त्यतिबेला आफ्नै पार्टीको दुई तिहाइको हैसियतको प्रधानमन्त्रीले गरेको, संविधानभित्रबाट गरेर विघटन चाहिँ हुँदैन भन्ने,’ उनले भने ।