शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षा मन्त्रीको चेतावनी

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षा मन्त्रीको चेतावनी

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले असोज १२ गते (आइतबार) भित्र शिक्षकलाई तलब वितरण नगर्ने विद्यालयका प्रधानाध्यापकविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन्।

मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिंदै दशैँ–तिहारको समयमा पनि तलब नपाएको भन्ने शिक्षकहरूको गुनासो व्यापक रुपमा आएको उल्लेख गरे। उनले शिक्षकमाथि अन्याय नगरी तोकिएको म्यादभित्रै पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित विद्यालयलाई निर्देशन दिएका हुन्।

शिक्षा मन्त्रालयबाट आवश्यक बजेट पहिले नै विद्यालयमा पठाइसकिएको स्मरण गराउँदै मन्त्री पुनले शिक्षकले आइतबारसम्म पनि तलब नपाएमा त्यसका लागि जिम्मेवार प्रधानाध्यापकलाई नियमअनुसार कारबाही हुने चेतावनी दिए।

उनले भने, “दशैँ–तिहारको अवसरमा धेरै शिक्षकले तलब नपाएको गुनासो गर्नुभएको छ। शिक्षा मन्त्रालयले तलब रकम विद्यालयमा पठाइसकेको छ। अब आइतबारसम्म पनि शिक्षकले पारिश्रमिक नपाउने अवस्था आयो भने सम्बन्धित प्रधानाध्यापकविरुद्ध आवश्यक कानुनी कारबाही गरिनेछ।”