काठमाडौं। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रास्वपाका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाईएको विषयमा अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् । पार्टीको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षको प्रस्ताविरुद्ध फरक प्रस्ताव पेश गर्ने क्रममा श्रेष्ठले यस्तो कुरा उठाएका हुन् ।
उनले रविलाई गृहमन्त्री बनाईएकोबारे भनेका छन्,‘स्वार्थको द्वन्द्व भएको व्यक्तिलाई गृह मन्त्रालयको जिम्मेवारी दिनु र रास्वपाको सभापति प्रति नेतृत्वबाट ज्यादै बढी महत्त्व दिएको र पक्ष धरता लिएको देखिनु, यहाँ के कुरामा स्पष्टताको आवश्यकता छ भने रास्वपा सभापतिमाथि अनुसन्धान र हिरासत वा जेल बसाइमा सरकारद्वारा गरिएको भेदभाव, दुर्व्यवहार र अपमानजनक व्यवहारको हामीले कडा विरोध गर्नपर्दथ्यो । त्यसमा कुनै शङ्का छैन । तर हाम्रो नेतृत्वबाट अनुसन्धान र मुद्दा दायर को नै विरोध गरेको जस्तो देखिनु उपयुक्त होइन ।’
नारायणकाजीले नेतृत्वको आलोचना गरेको अर्को विषय भनेको जनतासँग माओवादी जनजागरण अभियान प्रभावकारी रुपमा अघि बढिरहेकै बेलामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने र सरकारमा जान सकिने अभिव्यक्ति दिएको विषय पनि रहेको छ । प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन सकिने भनेर दिएको अभिव्यक्तिले आम पार्टीका कार्यकर्ता र जनतामा भ्रम पैदा भएको उनको आरोप छ ।
यस्तै, तत्कालिन गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसाका सन्दर्भमा प्रमुख प्रतिपक्षीको जिम्मेवारीमा रहेको माओवादीले कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गर्नुपनि गलत भएको उनको ठम्याई छ । अहिले संसद् पूनःस्थापनाको लागि अरु ७ दलसँग मिलेर विज्ञप्ती निकाल्नु गलत भएको उनको दाबी छ ।