राष्ट्रिय सभाका निर्वाचित सांसदले लिए शपथ

राष्ट्रिय सभाका निर्वाचित सांसदले लिए शपथ

काठमाडौँ : संघीय संसद्‍को माथिल्लो सदन राष्ट्रिय सभाका १८ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । दुई वर्षे कार्यकाल पूरा गरेर १९ जना सांसद राष्ट्रिय सभाबाट बाहिरिएको एकदिनपछि बुधबार १८ जना सांसदले शपथ ग्रहण गरेका हुन् । आज शपथ लिएका सांसदको कार्यकाल ६ वर्षको हुनेछ ।

माघ ९ गते निर्वाचित भएका १८ सांसदले शपथ लिएका हुन् । राष्ट्रपतिबाट मनोनीत हुने एक जनाको भने टुंगो लागेको छैन । राष्ट्रपतिबाट मनोनीत युवराज खतिवडाको दुई वर्षे कार्यकाल मंगलबार सकिएको थियो ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथ ग्रहणपछि अध्यक्ष तिमिल्सिनाले नयाँ सांसदहरूलाई सांसदको लोगो लगाइदिएका थिए । संघीय संसद सचिवालयले नयाँ सांसदहरूलाई संविधान र कानुनसहितको झोला दिएको थियो । १८ जना नयाँ सांसदमा सत्तारुढ नेकपाका १६ र राजपाका २ जना छन् ।

शपथ लिने सांसदहरु

शेखरकुमार सिह
मृगेन्द्रकुमार सिंह यादव
गंगाकुमारी बेल्बासे
वेदुराम भुसाल
इन्दिरादेवी गौतम
गोपीबहादुर सार्की अच्छामी
देवेन्द्र दाहाल
तुलसाकुमारी दाहाल
राधेश्याम पासवान
नारायणकाजी श्रेष्ठ
भगवती न्यौपाने
गोपाल भट्टराई
सुमित्रा विसी
मायाप्रसाद शर्मा
शारदादेवी भट्ट
तारामान स्वाँर
विमला घिमिरे
जगप्रसाद शर्मा

आज संसद प्रवेश गरेकामा ७ महिला, २ दलित, २ अपागंता भएका वा अल्पसंख्यक र ७ जना अन्य समूहबाट निर्वाचित भएका हुन् । नयाँ सांसदहरूको शपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभामा संसदीय दलका नेताहरू, मुख्य सचेतकहरू, सचेतकहरू, सांसदहरू, कार्यकाल सकिएर बाहिरिएका पूर्व सांसदलगायतको उपस्थिति थियो ।