कांग्रेस जिल्ला उपसभापतिहरुको प्रशिक्षण बहिस्कार गर्ने पैडेल पक्षको निर्णय

कांग्रेस  जिल्ला उपसभापतिहरुको प्रशिक्षण बहिस्कार गर्ने पैडेल पक्षको निर्णय

काठमाडौं : नेपाली कांग्रेसका संस्थापनइतर पक्षले जिल्ला उपसभापतिहरुको प्रशिक्षण बहिस्कार गर्ने भएको छ । रामचन्द्र पौडेल समूहका उपलब्ध केन्द्रीय सदस्य र जिल्ला उपसभापतिहरु पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा भेला भएका थिए । बैठकले १४औं महाधिवेशन प्रभावित गर्ने उद्देश्यमा साथ कार्यक्रम राखिएको ठहर गर्दै उपसभापतिहरुको भेला बहिस्कार गर्ने निर्णय लिएको बताइएको छ ।

बैठकमा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुपनि सहभागि भएको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह के सी ले जानकारी दिए । नेपाली कांग्रेस चौधौँ महाधिवेसनमा प्रवेस गरीसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्नेगरी विभाग गठन गरीएको इतरपक्षको निस्कर्ष छ ।

सभापति देउवाले गत शनिबार र सोमबार गरी पार्टीका ४७ विभाग मध्ये २० विभाग प्रमुख चयन गर्नुका साथै ८ जनलाई केन्द्रीय सदस्य र ६ जना आमन्त्रि केन्द्रीय सदस्यमा मनोनय गरेको थिए । सभापति देउवाले यतिबेला विधानविपरीत विभागको गठन र केन्द्रीय सदस्य मनोनय गरेर निर्वाचन आचारसिंहता उल्लघन गरेको पौडेल पक्षको आरोप छ ।

काँग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने मिति कार्यतालिकासहित सार्वजनिक गरिसकेको छ । आजको बैठकमा ३७ जिल्ला उपसभापति उपस्थित रहेको जनाइएको छ । छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला,पूर्वमहामन्त्री सिंह, नेताहरु अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतका नेताहरु सहभागी थिए ।