काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ। जसले गर्दा नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, आज राति भने कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रहि बाँकि भू–भागमा आंशिक बदली रहने सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको तराई र बागमती प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।