राप्रपाले पनि रूपन्देही-३ मा प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छान्ने

राप्रपाले पनि रूपन्देही-३ मा प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छान्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देहीको क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रणालीबाट उम्मेदवार छान्ने भएको छ ।

आज (मंगलबार) बसेको संसदीय समितिको बैठकले यो निर्णय गरेको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भइआएका आकाङ्क्षी

उम्मेदवारहरु मध्येबाट प्रजातान्त्रिक ढङ्गबाट उम्मेदवार छनौट गर्न मतदाताहरूबाट आन्तरिक प्रारम्भिक निर्वाचन गराइ उच्चतम मत प्राप्त गर्ने आकाङ्क्षी उम्मेदवारलाई उपनिर्वाचनको उम्मेदवार छनौट गर्ने निर्णय गरेको हो ।

आन्तरिक प्रारम्भिक निर्वाचन यथाशीघ्र गरिने र सो को आवश्यक प्रबन्ध रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने बताइएको छ ।

आन्तरिक प्रारम्भिक निर्वाचनमा रुपन्देही–३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही–३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही–३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाउँपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही जिल्ला क्षेत्र नं–३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरू, भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही–३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ सङ्गठनका पदाधिकारी तथा सदस्यहरू र भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही–३ अन्तर्गतका सक्रिय सदस्यहरू मतदाता रहने छन् ।