कोरनाको डर : नेकपा प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित

विराटनगर : कोरोना भाइरस संक्रमणको खतरा हुने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । आज (मंगलबार) प्रदेश १ को झापा वितामोर्डमा राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रम तय भएको थियो ।सरकारले ठूला सभा समारोह, भोजभतेर लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई आह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको हो ।

विर्तामोडको सीटी सेन्टरमा आज हुने प्रशिक्षणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा बादललगायतका नेता जाने कार्यक्रम तय भएको थियो । तर, बिहान मात्रै नेताहरुले हाललाई सो कार्यक्रम स्थगित गर्न प्रदेश पदाधिकारीलाई निर्देशन दिएका थिए ।

यता कार्यक्रममा सहभागी हुन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ फर्किएका छन् भने वरिष्ठ नेता झलनाथ खनाल हिजो (सोमबार) नै झाप पुगिसकेका थिए । सरकारको निर्णयअनुसार भेला तथा प्रशिक्षण हाललाई स्थगित गरिएको । प्रदेश १ का नेकपा अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।