पेट्रोलियम पदार्थको कर बृद्धिको कारणबारे जवाफ दिन सरकारलाई रुलिङ

काठमाडौं:प्रतिनिधिसभाले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लिनुको कारणबारे जवाफ दिन सरकारलाई रुलिङ गरेको छ । सोमबार समाजवादी पार्टीका सांसद सरिता गिरीले यसबारे आइतबारको बैठकमा सरकारले जवाफ दिनुपर्ने माग गरेकी थिइन् ।

तर सभामुखको ध्यानाकर्षण नभएको भन्दै सोमबारको बैठकमा रुलिङ नगरे संसद बैठक अवरुद्ध हुने चेतावनी दिएपछि सभामुख सापकोटाले सरकारलाई सो बारे जानकारी दिन रुलिङ गरेका हुन् । सोमबारको बैठकको सुरुमै समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसद छलेर पेट्रोलियम पदार्थमा कर बढाइएको भन्दै संसद छलेर कर लगाउने अधिकार मन्त्रिपरिषदलाई नभएको बताइन् । ‘संसदलाई छलेर कर लगाउने अधिकार मन्त्रिपरिषदलाई छैन ।

यो संसदको अधिकार हो । सरकारले संसदलाई छलेको छ, जनतालाई मुर्ख बनाइरहेको छ । सभामुखको तर्फबाट सरकारलाई कर वृद्धि गर्नुको कारण संसदमार्फत जनतालाई सुसूचित गराओस्’ उनले भनिन् । फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोल, डिजेल र हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लिने निर्णय गरेको थियो ।