प्रचण्डलाई जुत्ता हानिएको घटना छानबिन गर्न समिति गठन

काठमाडौ:नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरेर भएको जुत्ता प्रहारको घटनाबारे छानबिनका लागि एक जना प्रहरी वरिष्ठ अधिकृतको नेतृत्वमा समिति गठन भएको छ । जुत्ता प्रहार प्रकरणको छानबिन गर्न एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ । सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आदेशमा समिति गठन गरिएको हो ।

समितिमा एसएसपी थापाको नेतृत्वमा परिसरका डिएसपी बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिम्लिसिना रहेका छन् । एसएसपी थापा महानगरीय अपराध महाशाखाका प्रमुख हुन् । आइतबार राष्ट्रिय सभागृहमा तत्कालीन एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । यद्यपि, प्रचण्डलाई जुत्ता भने लागेको थिएन ।

जुम्लाका २१ वर्षीय रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । आफू सहिद परिवारको भएको र माओवादी संघर्षका क्रममा बाबुको ज्यान गएको तिरुवाले दाबी गरेका छन् । रतन तिरुवाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए ।