प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण:यस्तो छ टिम

काठमाडौं:प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमै हुने भएको छ। त्यसको आवश्यक तयारीका लागि अन्य विरामीलाई डिस्चार्ज दिइएको छ। बुधबार गरिने मिर्गौला प्रत्यारोपणका लागि चिकित्सकहरुले आवश्यक तयारी गरेका छन्। ओलीलाई उनकी भान्जी नाता पर्ने ३२ वर्षीया महिलाले मिर्गौला दिनेछिन्।

प्रधामन्त्रीले आफ्नै नातेदारबाट मिर्गौला लिन चाहे अनुसार अब भाञ्जी नाता पर्ने समीक्षा तयार भएकी हुन्। यसअघि मिर्गौला दिन तयार भएकी भाञ्जी ओली बिरामी हुँदा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै पुगेकी थिइन्। दोस्रो पटक हुने लागेको प्रत्यारोपणका लागि झण्डै १ दर्जन चिकित्सक र आधा दर्जन नर्स तथा प्यारामेडिक्स तयारी अवस्थामा छन् ।

प्रत्यारोपणका लागि ओलीको पहिलो पटक प्रत्यारोपण गरेका टिमका प्रमुख डा. अनन्तकुमार तीन जनाको आफ्नो टोलीसहित आउँदैछन् । यसैगरी, नेपालका बरिष्ठ युरोलोजिष्ट प्रा.डा. प्रेम ज्ञवालीले प्रत्यारोपणको नेतृत्व गर्दैछन् भने प्रधानमन्त्रीकी निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाह पनि शल्यक्रियामा मुख्य भूमिका हुने स्रोतको दावी छ । डा. शाहसँगै व्यवस्थापनमा प्रा.डा. दिलिप शर्माले पनि सघाउनेछन् ।

त्यसैगरी क्रिटिकल केयरको नेतृत्व त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विभागका प्रमुख प्रा.डा. सुवास आचार्य सम्हाल्दैछन् ।मिर्गौला दिन तयार भएपछि ओली र समीक्षाको रगतको यसअघि नै क्रस म्याचसमेत गरिसकिएको थियो। अब सबै परीक्षण पूरा भइसकेकाले बुधबार प्रत्यारोपण हुन लागेको हो ।