काभ्रेपलाञ्चोक। २०८१ असोज दोस्रोसाताको अबिरल वर्षापछिको बाढीपहिरोबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन (डीडीए) भइरहेको रहेको छ। क्षति आकलन सुरु गरिएको करिब चार महिनाको अवधिमा रोशी गाउँपालिकाको मात्रै डीडीए सकिएको जनाइएको छ।
घटनाको दश महिना बितिसक्दा पनि विविध कारण अवस्थामा रहेको हो। तर, हालसम्म पनि बाढीपहिरोबाट क्षति भएका निजी आवासको पूर्णविवरण प्राप्त नहुँदा सरकारले निजी आवास पुनःनिर्माणकार्य अलपत्र अघि बढाउन नसकेको जनाइएको छ।
गत चैत अन्तिमसाता जिल्लामा सबैभन्दा बढी जनधनको क्षति ब्यहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आँकलन सुरु गरिएको थियो। गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका-२ नारायणटारबाट यसको सुरुवात गरेका हुन्।
स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमश अनुदान उपलब्ध गराउन जिल्लामा विस्तृत क्षति आँकलनका लागि १८ जना प्राविधिक खटाइएको छ। निजी आवासको विस्तृत क्षति आँकलनको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेषरूपमा ध्यानाकर्षण गराइएको छ।
बाढीपहिरोबाट क्षति भएका निजी आवासको डिडिए सम्पन्न नभएका कारण बाढीपहिरो पीडित नागरिकले बसोबासका लागि घर निर्माण गर्न सकेका छैनन् भने सरकारले निजी आवास पुनःनिर्माणको लागि प्रदान गर्ने अनुदान रकमको टुंगाेसमेत लाग्न सकेको छैन। यसकारण बाढीपहिरो पीडित यहाँका नागरिकले आवास निर्माणको लागि सरकारबाट रकम नआउँदा आफन्तको घर तथा भाडामा बस्न बाध्य हुँदै आएका छन्।
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये बढी जनधनको क्षति पुगेको नमोबुद्ध नगर, पनौती नगर, बेथानचोक गाउँपालिका, तेमाल, भुम्लु, खानीखोला, महाभारत गाउँपालिकालगायतका प्रभावित स्थानीय तहको भने विस्तृत क्षति आँकलननको पूर्णतथ्यांक आउन नसकेको हो। रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीपहिरोले क्षति पुगेको गाउँपालिकाको ५ सय ६३ घरको डिडिए गरिएको जानकारी दिए।
उनका अनुसार डीडीएबाट प्राप्त प्रतिवेदनमा १ सय ९९ घर पुनर्निर्माण गर्नुपर्ने, २१ घरको माइनर रेट्रोफिटिङ तथा १९ घरको मेजर रेट्रोफिटिङ गर्नुपर्ने जनाइएको छ। यस्तै १९१ परिवारको आवश्यक कागजात नपुगेको, १०७ घरधुरीको पुनःनिर्माण आवश्यक नरहेको उल्लेख गरिएको हो।
यसैगरी नमोबुद्ध नगरमा डीडीएका लागि छनोट भएका ८२४ घरमध्ये हालसम्म ५२७ घरको डीडीए गरिएको नगर कार्यालयले जनाएको छ। उक्त नगरको वातावरण शाखा प्रमुख सन्तोष काफ्लेका अनुसार वडा नं ४, ५, ६ र ७ का २९७ घरको डीडीए गर्न बाँकी रहेको छ। डीडीए गर्न खटिएका कर्मचारीको समयसिमा सकिएका कारण चार वडामा डीडीएकार्य रोकिएको हो।
पनौती नगरमा ६३५ क्षतिग्रस्त घरको डीडीएकार्य गर्न आठ जना प्राविधिक खटाइएको छ । नगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष अधिकारीका अनुसार यस हप्तासम्ममा करिब ३५० घरको डीडीएकार्य सकिएको छ।
यस्तै बेथानचोक गाउँपालिकाका इन्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले बाढीपहिरोबाट क्षति भएका २८५ घरको डीडीएकार्य गर्नुपर्ने बताए। उनका अनुसार हालसम्म १८ घरको डीडीएकार्य सकिएको छ। उनले कर्मचारी अभावका कारण डीडीएकार्य ढिलाइ भएको बताए।
यसअघि सरकारले बाढीपहिरो पीडितलाई गत जेठमा अस्थायी आबास निर्माणका लागि काभ्रेपलाञ्चोकको १२ स्थानीय तहमा अनुदान पठाइएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमार्फत नेपाल सरकारले पहिलो किस्ता बापत २५ हजारका दरले राहत रकम उपलब्ध गराएपछि काभ्रेको १२ तहका करिब तीन हजार घरपरिवारका स्थानीय तहमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
उल्लेखित प्रभावित परिवारका लागि उपलब्ध गराइने ५० हजार राहत रकममध्ये पहिलो किस्तास्वरुप २५ हजार उपलब्ध गराइएको कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए।
उक्त बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका ८१ जनाले ज्यान गुमाएका थिए। छ जना अझै वेपत्तामा सूचीकृत छन् भने १०० को हाराहारिमा घाइते भएका थिए।