काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । राष्ट्र बैंक स्रोतका अनुसार उनले शुक्रबार कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिमिल्सिनालाई राजीनामा पत्र बुझाएका हुन् ।
उनी राष्ट्र बैंकको १८औँ गभर्नर बन्ने निश्चित जस्तै भएपछि राष्ट्र बैंकको कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका हुन् । गभर्नर बन्ने चर्चामा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले पनि यसअघि कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् । तर, हालसम्म उनको राजीनामा स्वीकृत भएको छैन । कार्यकारी निर्देशकको राजीनामा स्वीकृति राष्ट्र बैंक सञ्चालक समितिले स्वीकृत गर्नुपर्छ ।
गभर्नर बन्नका लागि धेरैले इच्छा देखाएका छन् । चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले कार्यवाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर तिम्सिनालाई दिएको छ । उनी पनि गभर्नर बन्ने दौडमा छिन् ।
गभर्नर छनोट समितिले दुई डेपुटी गभर्नरमध्ये एक र अन्य दुईजना गरी तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।