काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्दै छन् । उनी जतिसक्दो छिटो ओलीलाई सरकारबाट हटाउन आतुर छन्।
नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न र माओवादी केन्द्रले त्यसमा निःसर्त सघाउने सन्देश प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष पठाएका छन् । कांग्रेस सभापति देउवालाई सरकार परिवर्तन र नेतृत्वको विषयमा सन्देश पठाएका प्रचण्डले यस’boutमा देउवासँग छलफल गर्न खोजेका छन् ।
प्रधानमन्त्री ओलीभन्दा अघि कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले सरकारबाट बाहिरिएपछि सरकार बनाउने वा भत्काउने खेलमा आफू नलाग्ने सार्वजनिक रूपमै प्रतिबद्धता व्यक्त गरेका थिए । तर, पछिल्लो समय प्रचण्ड ओली सरकार हटाउन र नयाँ गठबन्धन बनाउँदै देउवालाई सरकारको नेतृत्व दिने खेलमा लागेका छन् ।
जनतासँग माओवादी तराई मधेश अभियान सञ्चालन गर्दै आएका प्रचण्डले आफ्नो भाषणमा अधिकांश समय सरकारको आलोचना गर्दै आएका छन् । काठमाडौंमा हालै समाजवादी मोर्चाको ब्यानरमा प्रदर्शन र सभा हुँदा होस् वा अन्य सार्वजनिक कार्यक्रममा उनी सरकारको आलोचना गर्नबाट पछि हट्दैनन् ।
प्रचण्डले सरकारकै कारण सडकमा जनआक्रोश बढेको र राजावादीहरूको प्रदर्शनमा पनि सरकार नै दोषी रहेको निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री ओलीकै कार्यशैलीका कारण प्रतिगामी शक्तिहरूलाई मलजल भएको र उनीहरू सडकमा उत्रिएको निष्कर्ष निकालेका प्रचण्डले जतिसक्दो छिटो सरकार परिवर्तन खोजेका छन् ।
प्रचण्ड आफैंले पनि एक टिभी अन्तर्वार्तामा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने मत राखेका छन् । त्यसमा माओवादीले निःसर्त सघाउने उनको भनाइ छ । परिवर्तनलाई आत्मसात् गर्ने शक्ति भएकाले र १२ बुँदे समझदारीको पनि मुख्य शक्ति भएकाले कांग्रेस र माओवादीबीच सहकार्य आजको आवश्यकता भएको प्रचण्डको ठम्याइ छ । उनले देउवालाई सरकारको नेतृत्व लिन आग्रह गरेका छन् । सरकारमा नगएर भए पनि आफ्नो दलले सघाउने उनको भनाइ छ ।
प्रचण्डले राजनीतिक कोर्स परिवर्तन गर्न चाहेको उनीनिकट नेताहरू बताउँछन् । प्रचण्ड सरकारमा रहेकै बेलामा एमालेबाट अप्रत्याशित धोका बेहोरेकाले उनले सुरुवातदेखि नै कांग्रेससँग नजिक र एमालेसँग टाढा रहन खोजेका थिए ।
शनिबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय काठमाडौं पेरिडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले ओली नेतृत्वको सरकारको आलोचना गरे । वर्तमान सरकारप्रति जनतामा निकै ठूलो आक्रोश र असन्तुष्टि रहेको उनले बताए ।
उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान छेडिरहेको अवस्थामा जाली फटाहाहरूले वर्तमान सरकार बनाइदिएकाले जनतामा आक्रोश र असन्तुष्टि चुलिएको बताए ।
अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएका बेलामा राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा असाधारण रेकर्ड बनेको दाबी गरे । छिमेकी मुलुकसँगको सम्बन्धका दृष्टिले र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र नेपालीको हित प्रस्तुत गर्ने सन्दर्भमा पनि आफ्नो तेस्रो प्रधानमन्त्रित्व कार्यकाल सफल रहेको उनले बताए ।
‘केही दलालहरू, नोकरशाहहरू, जाली फटाहाहरू र बिचौलियाहरू आत्तिए, हामीले सुरु गरेको अभियानबाट । अपारदर्शी तरिकाले, अलोकतान्त्रिक तरिकाले अहिलेको सरकार बनेको छ । त्यसकारण जनतामा अहिले निकै ठूलो आक्रोश छ, असन्तुष्टि छ,’ प्रचण्डले भने, ‘सडकमा जनता विभिन्न रूपले आन्दोलनमा आइरहेकै छन्, शिक्षकहरू आन्दोलनमा छन्, डाक्टरहरू आन्दोलनमा छन्, नर्सहरू आन्दोलनमा छन्, सरकारमा भएभन्दा बाहिरका पार्टीहरू प्रायः सबै सडकमै छन्, यस परिस्थितिमा हामीले एकातिर देशको राष्ट्रिय एकतालाई सुदृढ गर्नुछ, अर्कोतिर राजनीतिक परिवर्तन जे भएका छन्, तिनको रक्षा पनि गर्नुछ, अझ अगाडि बढेर यसको परिमार्जन, विकसित गर्नुछ ।’
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रचण्डको पछिल्लो गतिविधि अस्थिर र सत्ताबिना बाच्नै नसक्ने टिप्पणी गरेका छन् । प्रचण्डबिनाको नेपालको राजनीति आजको आवश्यकता भएको बताउँदै बस्नेतले पछिल्लो एक महिनायताको अभिव्यक्ति हेर्दा प्रचण्डजतिको अस्थिर सत्ताबिना बाँच्न नसक्ने, पार्टी र व्यक्तिहरूलाई आफू अनुकूल प्रयोग र दुरुपयोग गर्न सक्ने नेता कोही नभएको दाबी गरेका छन् ।
पछिल्लो एक महिनामा प्रचण्डको तीनथरीको अभिव्यक्ति आएको भन्दै उनले तीखो आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा शनिबार एक स्ट्याटस लेख्दै बस्नेतले प्रचण्डको अभिव्यक्तिले उनी अस्थिर र सत्ताबिना बाच्नै नसक्ने उल्लेख गरेका छन् ।
पछिल्लो एक महिनामा प्रचण्डको गतिविधि यस्तो रहेको भन्दै बस्नेतले लेखेका छन्, ‘कमरेड विद्या भण्डारी तपाईं नेकपा एमालेको अध्यक्ष बन्नुस् पुरानो नेकपा बिउँझाउने हो, म र माधव नेपालसहित एमालेमा आउने हो ।’
प्रचण्ड’bout बस्नेतले अगाडि थप लेखेका छन्, ‘आजको परिवेशमा राजावादीहरू सक्रिय हुन थाले, कम्युनिस्ट पार्टीहरू एकठाउँमा उभिनुपर्छ एकता गर्नुपर्छ, शेखर कोइरालाजी प्रधानमन्त्री बन्न तयार हुनुस् परिआए पार्टी फोर्नुस्, यो प्रचण्ड सदैव तपाईंको साथमा छ, शेरबहादुर देउवाजी तपाईं प्रधानमन्त्री बन्नुस् केपी ओली सरकार ढालौं बिनासर्त सहयोग गर्न तयार छु ।’
बस्नेतले पनि प्रचण्डले ओली नेतृत्वको सरकारको विकल्प खोजेको पुष्टि गरेका छन् । खासमा नेपाली कांग्रेसभित्र पनि ओली सरकारको आलोचना भइरहेको छ । नेताहरू डा. शेखर कोइरालादेखि महामन्त्री गगनकुमार थापालगायतका नेताहरूले सरकारको आलोचना गर्दै आएका छन् । त्यसबाट पनि प्रचण्ड हौसिएका छन् र देउवासँग मिलेर ओली हटाउन खोजेका हुन् ।
कांग्रेसका कोइरालाले ओली नेतृत्वको सरकारका कामकारबाहीको खबरदारी गर्नुपर्ने टिप्पणी गरेका छन् । कांग्रेस आफंै सरकारमा भएको कोइरालालाई थाहा हुँदाहुँदै सरकारको कामकारबाहीको खबरदारी गर्नुपर्ने किन भनिरहेका छन् त ? सरकारका कामकारबाहीको खबरदारी नगरिए कांग्रेस नै अप्ठ्यारोमा पर्ने कोइरालाले जनाएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा कोइरालाले सरकारमा पार्टीको सहभागिता रहे पनि प्रश्न गरिरहनुपर्ने बताए । कांग्रेसको प्रमुख प्रतिस्पर्धी एमाले रहेकाले पनि ओली नेतृत्वको सरकारलाई पार्टीले खबरदारी गरिरहनुपर्ने उनको भनाइ थियो ।
‘यो सरकारमा हामी पनि सहभागी छौं, मैले त एउटा कुरा भन्ने गरेको छु, हामी सत्तामा छौं तर सरकारमा छैनौं, ’cause हाम्रो प्रतिस्पर्धी कुनै पनि ठाउँमा एमाले हुन्छ, हामी अहिले एमालेसित सहकार्य गरेर अघि बढिरहेका छौं, यसलाई म खराब भनिरहेको छैन,’ कोइरालाले भने, ‘यो सरकारले कतै गलत, कमीकमजोरी गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिरहनुपर्छ, त्यो नगरे कांग्रेस अप्ठ्यारोमा पर्छ ।’
सरकारले सुशासन दिन नसकेको पनि कोइरालाको भनाइ छ । ‘सुशासन वास्तवमा छैन भने पनि हुन्छ, सुशासन दिलाउनलाई कन्जुस्याइँ नगरौं, भ्रष्टाचारको म कुरा गर्दिनँ, दण्डहीनता बढेको बढ्यै छ, यस कुरालाई हामीले नियन्त्रण गरेर अघि जान सक्छौं भन्ने मलाई विश्वास छ,’ कोइरालाले भने । यस्तै, उनले सरकार गठनअघि भएको सहमतिबमोजिम संविधान संशोधन गर्नमा ढिलाइ भए सडकमा आन्दोलन बढ्ने निष्कर्ष निकालेका छन् ।
राजधानी दैनिकबाट